अपराजित नेपाल बन्यो च्याम्पियन

दिपेन्द्र सिंह ऐरीले शानदार अलराउण्ड प्रदर्शन गर्दा पपुवा न्यु गिनीलाई ५० रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ।

घरेलु भूमिमा उपाधि जित्ने क्रममा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीलाई १६.१ ओभरमा ११८ रनमै समेट्यो। पपुवा न्यु गिनीको ब्याटिंगमा सिसि बाउले सर्वाधिक ५९ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए। करन केसीले ३ विकेट ( ३-०-२७-३ ) तथा कप्तान सन्दिप लामिछानेले २ विकेट ( ४-०-२५-२ ) लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट क्षेतीमा १६८ रन बनाएको थियो।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३८ बलमा ५ चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा ५ चौका मद्दतले अविजित ३३ रन बनाए। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः २९ र २५ रन बनाए। आदील अन्सारीले १५ रन बनाए भने रोहित पौडेलले २ रन बनाउदा आरिफ शेख र दिलिप नाथले खाता खोल्न सकेनन्।

कुशल भुर्तेल र आसिफ शेखले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ र छैठौं ओभरमा कुशल र रोहित आउट भए। तेश्रो विकेटको लागि आसिफ र दिपेन्द्रले ३८ रन जोडे। १२ औं ओभरमा सिमो कमियाले आसिफ शेख संगै आरिफ शेख र दिलिप नाथको विकेट लिंदै पपुवा न्यु गिनीलाई खेलमा फर्काए। त्यसपछि दिपेन्द्रले आदीलसंग ३२ रन जोडे। अन्तिम ३ ओभरमा दिपेन्द्र र करनले अविजित रहँदै सातौँ विकेटको लागि १८ बलमा ५४ रनको साझेदारी गरे।

पपुवा न्यु गिनीका बलर सिमो कमियाले सर्वाधिक ३ विकेट ( ४-१-२८-३ ) लिए भने चाड सोपर, कबुवा मोरिया र राइली हेकुरेले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिपेन्द्र ऐरी घोषित भए। यस्तै ऐरीनै प्लेयर अफ द सिरिज समेत घोषित भए। ऐरीले ५ खेलमा २७८ रन बनाउनुको साथै ७ विकेट समेत लिए।

सिरिज अन्तर्गत लिग चरणमा नेपालले सबै ४ खेलमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy