टस जितेर पीएनजी ब्याटिंग गर्दै, नेपालका तिन खेलाडीले ओडीआई डेब्यु गर्दै

नेपाल र पपुवा न्यु गिनी बीचको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मध्ये पहिलो खेलमा पपुवा न्यु गिनीले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ।

घाइते भएका कारण उपकप्तान दिपेंदर सिंह ऐरी र गुल्सन झा अन्तिम एघार मा छैनन्। दुवैको खुट्टामा चोट लागेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि अन्तिम एघारमा राखिएको छैन। आसिफ शेखले विकेटकिपिंग सम्हाल्नेछन्। यस्तै देब्रे हाते स्पिनर सुशन भारि, पेसर करन केसी र अविनाश बोहरा लाई पनि बाहिर राखिएको छ।

अल अमीरात मैदान ओमानमा नेपालले कुशल भुर्तेल, आसिफ शेख र बिक्रम सोबलाई अन्तिम एघारमा मौका दिएको छ। तिन जना खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने भएका छन्। कुशल र आसिफले यो वर्ष अप्रिलमा नेदरल्याण्ड बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। कुशल र आसिफ खेलमा नेपालको ओपनिंग ब्याटिंग जोडी हुनेछन्।

दायाँ हाते फास्ट बलर बिक्रम सोबले २०१५ नोभेम्बरमा नेपालको युएई भ्रमणमा हंगकंग बिरुद्ध दुई दिवसीय खेलमा नेपालको लागि डेब्यु गरेका थिए भने त्यसै भ्रमणमा ओमान बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए। आईसीसी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा भने बिक्रमको आज डेब्यु हुँदैछ।

नेपालले अन्तिम एघारमा फास्ट बलरको रुपमा बिक्रम सोब र सोमपाल कामिलाई मात्र मौका दिएको छ। अफ स्पिन अलराउण्डर पवन सर्राफ टिममा छन्। टिमको मध्यक्रममा कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, रोहित पौडेल, आरिफ शेख र कुशल मल्ल रहेका छन्।

पपुवा न्यु गिनी र अमेरिका बीच सोमबार सम्पन्न खेलमा अधिकांश विकेट अमेरिकी स्पिनरले लिएका कारण नेपालले फास्ट बलरहरुलाई बाहिर राख्दै स्पिनर टिममा चयन गरेको हो। सन्दिप र पवन बाहेक कुशल मल्ल, शरद भेसावकर र रोहित पौडेल स्पिन गर्न सक्छन्।

नेपालको अन्तिम एघार : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , आसिफ शेख ( विकेटकिपर ) , कुशल भुर्तेल, आरिफ शेख, शरद भेसावकर, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ, सोमपाल कामि, सन्दिप लामिछाने, बिक्रम सोब

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy