रोहित र करनको करियरकै उत्कृस्ट ब्याटिंग, नेपालद्वारा पीएनजीलाई २३४ रनको लक्ष्य

२०७८ भाद्र २५, शुक्रबार १९:३७

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पपुवा न्यु गिनीलाई २३४ रनको लक्ष्य दिएको छ। नेपालले इतिहासमै पहिलो पटक डे-नाइट एक दिवसीय अन्तर्राष्ट्रिय खेलीरहेको छ। अल अमिरात मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको हो।

नेपालको लागि रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा सर्वाधिक ८६ रन बनाए जुन क्रममा उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै करन केसीले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक स्कोर बनाउने क्रममा आक्रामक ब्याटिंग गर्दै मात्र २६ बलमा २ चौका र ४ छक्का मद्दतले ४२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ३ चौका र २ छक्का मद्दतले ४५ रन तथा सोमपाल कामिले ११ रन बनए।

रोहितले यस अघि २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अर्धशतक बनउने क्रममा ५५ रन बनाएका थिए। यस्तै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्का ( ११५ रन ) पछि दोश्रो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन्।

नेपालको सुरुवात खराब रह्यो। ओपनर आसिफ शेख तेश्रो ओभरमा ३ रन बनाएर नोर्मन भानुवाबाट विकेटपछाडी समातिन पुगे। अर्का ओपनर कुशल भुर्तेल पनि ३ रन बनाएर चौथों ओभरमा कबुवा मोरीएबाट क्याच आउट भए। तेश्रो विकेटको लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ८९ रनको साझेदारी गरे। २५ औं ओभरमा मल्ललाई चाड सोपरले एलबिडब्लु पारे।

Rohit Paudel रोहित पौडेल अर्धशतक पुरा गरेपछि

मल्लको विकेटपछि रोहितले बिनोद भण्डारीसंग ४१ रनको साझेदारी गरे। ३५ औं ओभरमा बिनोद रन आउट भए जसपछि लगत्तै ओभरमा कुशल मल्ल ठूलो सट खेल्ने क्रममा मात्र १ रन बनाएर क्याच आउट भए। त्यसपछि सोमपाल कामि पनि ११ रन बनाएर कबुवा मोरियाबाट क्याच आउट भए।

सोमपालको विकेट पछि क्रिजमा आएका करन केसीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। रोहित र करन बीच ४६ बलमा ६६ रनको साझेदारी भयो। ४९ औं ओभरमा करनलाई सोपरले क्याच आउट गराए। करनको विकेट लगत्तै बलमा रोहित पनि सोपरबाट क्याच आउट हुन पुगे। अन्तिम ओभरमा बिक्रम सोब १ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। फलस्वरुप नेपालले २३२/६ बाट थप १ रन योगफलमा जोड्दा बाँकी ४ विकेट गुमाउन पुग्यो।

पपुवा न्यु गिनीको बलिंगमा चाड सोपरले ३ विकेट ( ९-०-४५-४३ ) तथा कबुवा मोरिया ( १०-१-२६-२ ) र नोर्मन भानुवा ( ९.२-०-४९-२ ) ले समान २ विकेट लिए। चार्ल्स अमिनीले १ विकेट लिए।

पपुवा न्यु गिनीसंग पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। सिरिज पछि नेपालले विश्वकप लिग-२ अन्तर्गत सेप्टेम्बर १३ तारिख देखि ओमान र अमेरिका संग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। खेलतालिका हेर्नुस 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy