सरस्वति र रुबिना चम्किंदा नेपालको ऐतिहासिक सिरिज जित

२०७८ मंसिर १, बुधबार १९:०६

दोश्रो टि-२० अन्तर्राष्ट्रियमा कतारलाई ६१ रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित दर्ता गरेको छ। तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले एक खेल बाँकी रहँदै २-० ले जित्यो। पहिलो खेल नेपालले ११९ रनले जितेको थियो।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनायो। कतारको ब्याटिंगमा कप्तान आयशाले सर्वाधिक २४ रन, केरी पौनसेटले १५ रन योगदान दिए।

नेपालको बलिंगमा सरस्वति चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चिन्। रुबिना क्षेत्रीले २ विकेट ९ २.३-०-१२-२ ) हात पारिन् यस्तै सबनम राई ( ४-१-१०-१ ) , संगीता राई ( ४-०-२०-१ ) र कविता जोशी ( ३-०-१३-१ ) ले समान १ विकेट हात पारिन्।

टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १२९ रन बनाएको थियो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा ५० रन बनाईन् जुन क्रममा उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले ३० बलमा २ छक्का प्रहार गर्दै ३१ रन तथा अप्सरी बेगमले अविज्ती १७ बलमा १ चौका मद्दतले २३ रन बनाईन्। रुबिनाले कवितासंग तेश्रो विकेटको लागि ५६ रनको तथा छैठौं विकेटको लागि अप्सरीसंग ३७ रनको साझेदारी गरिन्। रुबिना अन्तिम ओभरमा आउट हुन पुगिन्।

कतारको बलिंग मा एन्जेलिन मारेले २ विकेट तथा अलिना खान, सबिजा पनायान र साची धाडवालले समान एक विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy