दक्षिण अफ्रिका र नेपाल पहिलो पटक भिड्दै

२०८१ असार १, शुक्रबार १५:१०

काठमाडौं । नेपाल र दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भिड्ने भएका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा शनिबार दक्षिण अफ्रिका र नेपाल पहिलो पटक आमने सामने हुने भएका हुन् । शनिबार बिहान सवा पाँचमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हुदैछ । खेल नेपाली समय अनुसार शनिबार बिहान सवा पाँचमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको किंग्सटाउनमा हुनेछ ।

उमेर समूहको विश्वकपमा भने नेपालले दक्षिण अफ्रिकाको टोलीलाई पराजित गरिसकेको छ । यू-१९ क्रिकेट विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको तीन भेट भएकोमा नेपाल अपराजित रहेको छ । दुई खेल नेपालले जित्दा एक खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाल र दक्षिण अफ्रिकाको सिनियर टोलीको भने यो नै पहिलो भेट हुनेछ ।

नेपालले २४ औं टी-२० आई प्रतिद्वन्दीका रुपमा दक्षिण अफ्रिकालाई पाउँने भएको छ । यस अघि नेपाल र श्रीलंकाबीचको खेल फ्लोरिडामा १२ जुनमा हुने भनिएको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका २४ औं प्रतिद्वन्दी भएको हो ।

दक्षिण अफ्रिका नेपालले टी-२० आई खेल्न लागेको पाँचौ टेस्ट राष्ट्र हो । यसअघि नेपालले टेस्ट मान्यता पाएका भारत, जिम्बावे, आयरल्यान्ड र बंगलादेशसँग खेलिसकेको छ । सन् २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानसँग खेलेको भए पनि अफगानिस्तानले सो समयमा टेस्ट मान्यता पाएको थिएन ।

नवौं संस्करणको विश्वकपमा नेपाल

नेपालले गतसाताको मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । नेदरल्यान्ड्ससँगको खेल नेपालले छ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने खेल तालिका रहे पनि भारी वर्षाका कारण टस समेत हुन नसकि सो खेल रद्द भएको थियो ।

नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको किंग्सटाउनमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार शनिबार बिहान सवा पाँचमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy