नेपाललाई ३ विकेटले पराजित गर्दै स्कटल्याण्ड लिग-२ को शिर्षमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको छ। लिग-२ अन्तर्गत स्कटल्याण्डसंग तेश्रो खेल खेल्दा नेपाल दोश्रो पटक पराजित भएको हो।

विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्याण्डले ७ विकेट गुमाएर ३२.१ ओभरमा भेटायो।

स्कटल्याण्डको लागि ओपनर क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४३ रन योगदान दिए। ब्रान्डन म्याकमुलेंले अविजित ३२ रन, माइकल लिस्कले २२ तथा जर्ज मुन्सेले १७ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले ८६ रन बनाउदा ५ विकेट गुमायो। छैठौं विकेटको लागि ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले ४० रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए।

नेपालको बलिंगमा सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट तथा दिपेन्द्र ऐरीले १ विकेट लिए।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो।

१३७ रनको योगफल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सातौँ कम योगफल हो। स्कटल्याण्डले यसै वर्ष जुलाईमा नेपाललाई १२८ रनमै समेटेको थियो।

नेपालको लागि गुल्सन झाले सर्वाधिक २९ रन योगदान दिए। ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन बनाए।

पन्ध्रौँ ओभरमा अर्जुन साउद रन आउट हुँदा ४४ रनमा २ विकेट गुमाएपछि नेपालको विकेट जाने क्रम रोकिएन। दोश्रो विकेटको लागि अर्जुन र ज्ञानेन्द्रले ३७ रनको साझेदारी गरे जुन इनिंग्सको सर्वाधिक साझेदारी रह्यो। चौंथो विकेटको लागि आरिफ र रोहितले २३ रन जोडे।

स्कटल्याण्डका बलर क्रिस सोलले ३ विकेट, मार्क वाटले २ विकेट लिंदा ब्राण्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल र नामिबिया बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो।

नेपालले सिरिजको अफ्न्नो तेश्रो खेल नामिबियासंग डिसेम्बर ७ तारिख बुधबार तथा चौंथो खेल स्कटल्याण्डसंग डिसेम्बर ८ तारिख विहिबार खेल्ने तालिका छ।

अंकतालिका 

नेपाललाई पराजित गर्दै स्कटल्याण्ड लिग-२ अंकतालिकाको शिर्षमा पुगेको छ। समान ४४ अंक भएता पनि स्कटल्याण्ड नेट रन रेटमा अघि छ। ३० खेलमा उसले २१ जित र ७ हार बेहोरेको छ भने २ खेल नतिजाविहिन रहेको छ। हार पछि नेपाल छैठौं स्थानमा यथावत छ। नेपालले २२ खेल खेल्दा १२ हार र ८ जित दर्ता गर्न सकेको छ भने १ खेल नतिजाविहिन र १ खेल बराबरीमा टुंगिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy