( फिचर फोटो – रोहित पौडेल – फाइल )
- विकेटनेपाल, चैत-२९
अन्डर-१९ विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रनको योगफल तयार गर्दै २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रतियोगितामा नेपाल सहित मलेसिया, कुवेत, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स सहभागी छन्। प्रतियोगिताको विजेता टिम २०२० यु-१९ विश्वकपमा छनौट हुने भएकोले २०१८ को यु-१९ विश्वकपमा छनौट हुन असफल नेपाली युवा टिमलाई पुनः विश्वकप ढोका ढकढक्याउने मौका रहेको छ।
रोहितको उत्कृस्ट इनिंग
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर रित गौतम १ रन बनाएर तथा तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाएर आउट भए।
तेश्रो विकेटको लागि ओपनर पवन सर्राफले कप्तान रोहित पौडेलसंग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए।
१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। सर्राफको विकेट लगत्तै सन्दिप जोरा खाता नखोली आउट भए। नेपालको योगफल १९.२ ओभरमा १०८/४ पुग्यो।
त्यसपछि नेपालको साझेदारीको आवस्यकता पुरा गर्न रोहितले भिम शार्कीसंग मिलेर योगफल अघि बढाए। १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका भिम २५ औं ओभरमा आउट भए। १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर कुशल मल्लले पनि विकेट गुमाए।
सातौँ विकेटको लागि नवौं नम्बरमा आएका राशिद खानसंग रोहितले ७७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० पार गराए। राशिद अर्धशतक बनाउन २ रनले चुक्दा ४१ औं ओभरमा रन आउट हुन पुगे। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
रासिदको विकेट पछि पनि रोहितले एक किनार सम्हालीरहे जसलाई आठौँ विकेटको रुपमा कमल सिंह ऐरिले राम्रो साथ दिए। दुवैले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गरे।
शतकको नजिक पुगेका रोहित १६ औं ओभरमा आउट हुन पुगे। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १०५ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
रोहितको विकेटपछि ३१ रन बनाएका कमल ऐरि पनि आउट भए जसले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे।
नेपालले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रनको योगफल तयार गर्यो।
सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए जुन क्रममा ८ ओभरमा ३७ रन खर्चिए। यस्तै राउल शर्मा ( ६-०-३६-२ ) र भिनित मेहता ( ५-०-३०-२ ) ले २/२ विकेट लिए। अतिरिक्तको रुपमा सिंगापुरले १६ रन खर्चियो। स्कोरकार्ड
यु-१९ स्तरमा सिंगापुरसंग नेपाल पराजित भएको इतिहास छैन।