बलरहरु चम्किंदा श्रीलंका भ्रमणमा नेपालको विजयी सुरुवात

श्रीलंका नेभीलाई १११ रनले सहजै पराजित गर्दै नेपालले श्रीलंका अभ्यास भ्रमणको विजयी सुरुवात गरेको छ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको २१५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले २८.५ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि एम मधुशंकाले सर्वाधिक ३९ रन बनाए।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ७.५ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए। यस्तै बिक्रम सोब ( ४-०-१३-२ ) र ज्ञानेन्द्र मल्लले ( १-०-८-२ ) समान दुई विकेट लिए भने करन केसी ( ५-१-२०-१ ), कमल सिंह ऐरी ( ३-०-१५-१ ) र सागर ढकालले ( ५-०-२३-१ ) समान एक विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१४ रन बनाएको थियो।

नेपालको सुरुवात खराब रह्यो। ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल २ तथा रोहित पौडेल १३ रन बनाएर आउट भए। त्यसपछि आसिफ शेख र दिपेन्द्र ऐरीले इनिंग्स सम्हाले। तर नेपालको विकेट जाने क्रम थामिएन।

आसिफ ३६ रन बनाएर आउट भएपछि रोहित पौडेलले १३ रन मात्र बनाउन सके। एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी पनि ४३ रन बनाएर आउट भए। त्यसपछि बिनोद भण्डारीले २२, करन केसीले १६, कमल सिंह ऐरीले १५ तथा सन्दिप लामिछानेले ११ रन बनाए। सागर ढकालले १३ तथा बिक्रम सोबले अविजित ११ रन बनाए।

श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट ( ९.१-१-५९-४ ) तथा ए. अवाद्तले ३ विकेट ( १०-१-३१-३ ) लिए।

श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई बाहिर राखेको थियो।

नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy