थाईल्याण्डमा जारी एसीसी अन्डर-१६ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत नेपालले तेश्रो खेलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ।
खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार गरेको छ।
नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका आइस भट्टराईले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ७३ बलमा ९ चौका प्रहार गरे। यस्तै ओपनर दिपक बोहराले ३५ ( ३६ बलमा ५ चौका र १ छक्का ) तथा कप्तान बिशाल बिक्रम केसीले ३८ ( ३१ बलमा ४ चौका र २ छक्का ) रन बनाए।
आइसले दोश्रो विकेटको लागि दिपक बोहरासंग ५५ रनको तथा चौथो विकेटको लागि कप्तान बिशालसंग ७३ रनको साझेदारी गरे।
आठौँ नम्बरमा ब्याटिंग गरेका बिशाल कुमार पटेलले अविजित २८ तथा नवौं नम्बरका निखिल कुमार सिंहले अविजित २२ रन बनाउदै नेपालको योगफल २०० पार गराए। दुई ब्याट्सम्यानले आठौँ विकेटको लागि ४२ रनको साझेदारी गरे।
बिशालले २३ बलमा ५ चौका तथा निखिलले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे। नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार गर्यो।
थाईल्याण्ड बलर नारावित नुनटारचले ३ विकेट तथा योदसक सरनोनाकमले २ विकेट लिए।
प्रतियोगितामा नेपालले मलेसिया र म्यानमारलाई पराजित गर्दै २ जित दर्ता गरिसकेको छ। आज थाईल्याण्डलाई पराजित गरे नेपाल समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।