रोमान्चक खेलमा नेपाल १ विकेटले पराजित, युगान्डालाई २-० को अग्रता

रोमान्चक दोश्रो खेलमा नेपाललाई १ विकेटले पराजित गर्दै युगान्डा महिला क्रिकेट टिमले नेपाल बिरुद्ध पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता पाएको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १०२ रनको लक्ष भ्रमण टोलिले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेटायो। स्कोरकार्ड

लक्ष पछ्याउने क्रममा युगान्डालाई अन्तिम २ ओभरमा जित्न १० रन आवस्यक थियो र साथमा ५ विकेट बाँकी थियो। १९ औं ओभरमा दायाँ हाते मिडियम पेसर सबनम राईले ४ रन खर्चेर २ विकेट लिंदा नेपाल खेलमा फर्कियो। अन्तिम ओभरमा जित्न ६ रन आवस्यक रह्यो। दायाँ हाते पेसर कविता कुँवरले ओभरको पहिलो बलमा वाइड दिएपछि लगातार २ बलमा २ विकेट लिंदै खेल रोमान्चक बन्यो। त्यसपछि भने नेपाल विकेट लिन असफल रह्यो र १ बल बाँकी हुँदा युगान्डाले लक्ष पुरा गर्यो।

युगान्डाको ब्याटिंगमा प्लेयर अफ द म्याच  रिता मुसमालीले सर्वाधिक ३० रन, फ्रान्कलिन नजुम्बाले १९ तथा जानेट एमबाब्जीले १६ रन योगदान दिए। नेपालको बलिंगमा कविता कुँवर र सबनम राईले २/२ विकेट तथा सिता राना मगर र रुबिना क्षेत्रीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा १०१ रन बनायो।

नेपालको लागि ओपनर बिन्दु रावलले सर्वाधिक २६ रन बनाए। सरिता मगरले २२ तथा कप्तान रुबिना क्षेत्रीले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अँकमा रन बनाउन सकेनन्। डली भट्टले अविजित ९ रन बनाइन् जुन क्रममा इनिंग्सको एक मात्र छक्का प्रहार गरिन्।

युगान्डाको बलिंगमा जनेट एमबाब्जीले २ तथा इभलिन एनीपो, कन्की अवेको र रिता मुसामालीले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा युगान्डा १२ रनले विजयी भएको थियो। सिरिज अन्तर्गत तेश्रो खेल मे १९ तारिख ( बिहिबार ) खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy