विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुशलको अर्धशतक

२०८२ आश्विन २३, बिहीबार १२:२५

कुशल भुर्तेलको अर्धसतकसँगै नेपाली बलरले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा कुवेतलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।

जितका लागि नेपालले प्रस्तुत गरेको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो ।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए । यस्तै यासिन पटेलले १९ र मीत भाब्सारले ११ रन जोड्नुभयो। यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक एक विकेट लिए । भुर्तेल प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५६ बलमा समान तीन चौका र छक्कासहित उक्त रन बनाए ।

यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले १९ बलमा एक छक्कासहित २० र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले दुई दुई तथा मोहम्मद आकिफ फरुकले एक विकेट लिए । यस जितसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले समूहको दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy