टि-२० अन्तर्राष्ट्रिय वरियतामा १२ औं स्थानमा नेपाल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको पछिल्लो टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले १२ औं स्थानमा पुगेको छ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले सबैभन्दा उच्च स्थान २०१९ अप्रिलमा हाँसिल गरेको थियो जति बेला टिम ११ औं स्थानमा पुगेको थियो।

नेपाली क्रिकेट टिमले अन्तिम पटक गत वर्ष अप्रिलमा टि-२० अन्तर्राष्ट्रिय खेलेता पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय अन्य देशको कमजोर प्रदर्शनका कारण नेपालको वरियता माथि पुगेको हो। जारि टि-२० विश्वकपमा आयरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, पपुवा न्युगिनी जस्ता देशहरुको कमजोर प्रदर्शनले नेपालको वरियता सुधारमा फाइदा भएको हो।

नेपाल टेस्ट राष्ट्र आयरल्याण्ड तथा टि-२० विश्वकपमा सहभागी भएका स्कटल्याण्ड, नामिबिया, ओमान, नेदरल्याण्ड र पपुवा न्यु गिनीभन्दा पनि वरियतामा अघि रहेको छ। वरियताको शिर्ष १ देखि ११ सम्म क्रमशः इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अस्ट्रेलिया,अफगानिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्। नेपाल भन्दा तल १३ औं देखि २० औं स्थानमा क्रमशः आयरल्याण्ड, स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, नेदरल्याण्ड, पपुवा न्यु गिनी र सिंगापुर रहेका छन्।

टि-२० अन्तर्राष्ट्रिय वरियताकै आधारमा नेपाली टिम आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा स्वतः छनोट भएको छ। नेपाल सहित १५ टिम ग्लोबल छनोटमा सहभागी हुनेछन् जुन आगामी वर्ष फेब्रुअरीमा आयोजना हुन सक्नेछ।

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा भने १६ औं स्थानमा छ। नेपाल भन्दा अघि ओमान १५ औं, जिम्बाब्वे १४ औं, स्कटल्याण्ड १३ औं, आयरल्याण्ड १२ औं तथा नेदरल्याण्ड ११ औं स्थानमा छ। नेपाल भन्दा पछाडी युएई १७ औं, अमेरिका १८ औं, नामिबिया १९ औं र पपुवा न्यु गिनी २० औं स्थानमा छ।

आईसीसी वरियतामा खेलाडीतर्फ टि-२० अन्तर्राष्ट्रियमा ब्याटिंगतर्फ कुशल भुर्तेल ५७ औं स्थानमा छन् भने पारस खड्का ९६ औं र ज्ञानेन्द्र मल्ल ९८ औं स्थानमा छन्। सन्दिप लामिछाने बलरतर्फ ८८ औं स्थानमा छन्। एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा बलिंगतर्फ सन्दिप लामिछाने ७९ औं स्थानमा छन् भने अन्य खेलाडी ब्याटिंग र बलिंगमा शिर्ष १०० भित्र छैनन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy