४२१ बल सम्म वाइड नगरेको नेपाल…

२०८१ जेष्ठ २७, आईतवार ११:४१

काठमाडौं । नेपालले टी-२० विश्वकपमा ४ सय २१ बलको बलिङ गर्दा कुनै वाइड बल गरेको छैन । दश बर्ष पछि वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना भईरहेको नवौं संस्करणको आइसीसी टी-२० विश्वकप खेलिरहेको छ ।

विश्वकप वा कुनै प्रतियोगिताहरुमा बलिङ राम्रो हुने टिमलाई राम्रो टिमको रुपमा गनिन्छ । दश वर्ष अघि विश्वकप खेल्दा बलियो बलिङका साथ उत्रिएको भएर नेपालले दोस्रो चरणको सम्भावना बलियो बनाएको थियो । यो विश्वकपमा पनि नेपालले सोहि लयलाई निरन्तरता दिएको छ ।

यस संस्करणको विश्वकपको पहिलो खेलमा मात्र दुई अतिरिक्त रन दिएको थियो । दुई अतिरिक्त रनमा कुनै वाइड समावेश थिएन । पहिलो र दोस्रो विश्वकपमा गरेर नेपालले ७० दशमलब १ ओभर बलिङ गर्दा एक रन पनि वाइडका रुपमा खर्चिएको छैन । पहिलो विश्वकपमा नेपालले उत्कृष्ट बलिङ प्रस्तुत गर्दै प्रतियोगितामा खेलेको तीन खेलमा जम्मा आठ रन अतिरिक्तमा खर्चिएको थियो । आठ अतिरक्ति रन खर्चदा कुनै वाइड वा नो-बल गरेको थिएन ।

विश्वकपमा नेपालले पहिलो र एक मात्र नो-बल ५७ दशमलब ३ ओभर बलिङ गरेपछि गरेको थियो । गत मंगलबार नेदरल्यान्ड्ससँग यस संस्करणको पहिलो खेलमा ४ दशमलब ५ ओभरमा गुलसन झाले पहिलो र एक मात्र नो-बल गरेका हुन् ।

१६ मार्च २०१४ मा हङकङसँग खेल्दै नेपालले विश्वकपमा डेब्यु गरेको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङले १७ ओभरमा अल आउट हुदै ६९ रन मात्र बनाउन सक्यो । खेल नेपालले ८० रनले जितेको थियो । यस खेलमा नेपालले १ रन अतिरिक्तको रुपमा खर्चिएको थियो । सो १ रन लेग बाईको रुपमा हङकङलाई मिलेको थियो ।

१८ मार्च २०१४ मा नेपालले विश्वकपको दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग खेलेको थियो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस खेल नेपालले ८ विकेटले गुमाएको थियो । यस खेलमा नेपालले २ अतिरिक्त रन खर्चिएको थियो । अतिरिक्त २ रन लेग बाईका रुपमा बंगलादेशलाई मिलेको थियो ।

विश्वकपको तेस्रो खेलमा नेपालले अफगानिस्तानसँग खेलेको थियो । अघि दुई खेलमा झै यस खेलमा पनि नेपालले टस हारेर ब्याटिङ गरेकोमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउँन सक्यो । नेपाल ९ रनले विजयी भएको यस खेलमा अफगानिस्तानले ५ रन अतिरिक्तका रुपमा पाएको थियो । उक्त पाँचै रन लेग बाईको रुपमा अफगानिस्तानले पाएको थियो ।

पहिलो विश्वकप सहभागीतामा नेपालले आठ रन अतिरिक्तको रुपमा खर्चिएको थियो । अतिरिक्त रनमा चार बाई तथा चार रन लेग बाईको रुपमा दिएको थियो । यस विश्वकपमा नेपालले वाइड र नो-बलमा अतिरिक्त रन खर्चिएको थिएन ।

यस संस्करणको पहिलो खेल नेपालले नेदरल्यान्ड्ससँग ४ जुन अर्थात जेठ २२ मा खेलिसकेको छ । सो खेलमा नेपालले दुई रन अतिरिक्तमा खर्चिएको थियो । अतिरिक्त रनमा एक लेग बाई तथा एक नो-बल समावेश रहेको थियो ।

नवौं संस्करणको विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy