काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा भर्खरै सकिएको छ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले प्रतियोगिताको उपाधी जितेको थियो ।
यस संस्करणको विश्वकपको समाप्तीसँगै भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने दशौं संस्करणको विश्वकपमा कुन कुन टिमको सहभागीता रहन्छ त ?
नवौं संस्करणको विश्वकपको सुपर एटमा पुगेका सात टोली (दक्षिण अफ्रिका, इंग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया, अमेरिका, वेस्ट इन्डिज, बंगलादेश), आयोजक (भारत र श्रीलंका) तथा वरियताक्रममा सुपर एटमा स्थानबनाउँन नसकेका तीन टोली (पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड) सिधै छनोट भएका छन् ।
बाँकी आठ टोली महादेशीय छनोटबाट विश्वकपका लागि छनोट हुनेछन् । जसमा एसिया , अफ्रिका र युरोप छनोटबाट समान दुई दुई तथा एसिया प्यासेफिक र अमेरिका छनोटबाट समान एक एक राष्ट्र छनोट हुनेछन् ।
कसरी हुन्छ त एसिया छनोट ?
एसिया छनोटमा जम्मा छ राष्ट्रको सहभागीता रहने छ । नवौं संस्करणको विश्वकपमा सहभागीता जनाएकाले नेपाल र ओमानले छनोटमा सिधै स्थान बनाएका छन् । बाँकी चार राष्ट्र भने उप क्षेत्रीय छनोट चरण पार गरेर आउने छन् ।
उपक्षेत्रीय छनोट दुई वटा हुनेछ । दुवै उपक्षेत्रीय छनोटको शीर्ष दुई टोलीले मुख्य छनोटमा स्थान बनाउँने छन् । एसिया क्षेत्रीय छनोटको शीर्ष दुईमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।
नेपाल कसरी हुन्छ त छनोट ?
नेपालले वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको नवौं संस्करणको टी-२० विश्वकपमा सहभागी भएको थियो । नेपाल दशौं संस्करणको विश्वकपमा पनि सहभागी हुन एसिया क्षेत्रीय छनोटको शीर्ष दुईमा रहन जरुरी रहने छ ।