नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको २५ वर्ष पुरा

सेप्टेम्बर ६ तारिख नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन हो। २५ वर्ष अगाडी आजकै मितिमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको थियो। १९९६ मा मलेसियामा आयोजित एसीसी ट्रफी प्रतियोगितामा नेपालले सेप्टेम्बर ६ तारिखको दिन बंगलादेश बिरुद्ध पहिलो अधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। पहिलो खेलमा हारबाट सुरुवात तथा प्रतियोगिताको समूह चरणबाट बाहिरिएता पनि प्रतियोगितामा नेपालको सहभागिता आफैमा ऐतिहासिक थियो। नेपाल सहित कूल १२ टिम सहभागी एसीसी ट्रफी १९९६ मा नेपाल रहेको समुह ‘ए’ मा बंगलादेश, ब्रुनाई, फिजी, हंगकंग र जापान रहेको थियो।

पहिलो नेपाली टिम र प्लेयिंग ११ त्यसबेला प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली टिम मलेसिया पुगेको थियो। टिमको कप्तानको रुपमा उत्तम कर्माचार्य तथा एलबि क्षेत्री उपकप्तान रहेका थिए। टिमका अन्य सदस्यहरुमा विकेटकिपर गणेश शाही,  मनिषराज पाण्डे, संजय गुरुङ, जगत टमाटा, राजु खड्का, किरण राणा, पुकार पन्त, मुसरफ इजहार, पवन अग्रवाल, बसन्त शाही, रितेश बराल र बिशाल गुप्ता रहेका थिए। टिमको प्रशिक्षण सुनोज भट्टराईले गरेका थिए भएन व्यवस्थापकको रुपमा टिबी शाह रहेका थिए। बंगलादेश बिरुद्ध पहिलो खेलको अन्तिम-११ मा रितेश बराल, पुकार पन्त र विशाल गुप्ताले मौका पाएनन्। प्रतियोगिताको ५ वटा खेलमा विशाल गुप्ता बाहेक अन्य सबै १३ खेलाडीले डेब्यु गर्ने मौका पाए।

पहिलो प्लेयिंग ११ : उत्तम कर्माचार्य ( कप्तान ) , पवन अग्रवाल,  गणेश शाही ( विकेटकिपर ),  मनिषराज पाण्डे, संजय गुरुङ, राजु खड्का, एलबि क्षेत्री ( उपकप्तान ), मुसरफ इजहार, बसन्त शाही, जगत टमाटा, किरण राणा

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टिम, मलेसिया प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

हारबाट सुरुवात : नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल बंगलादेश बिरुद्ध १९९६ सेप्टेम्बर ६ मा खेलेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो। पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो जुन अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि बंगलादेशलाई बढी रनरेटको कारण विजेता घोषित गरिएको थियो।

खेलमा नेपालको लागि बलिंगमा राजु खड्का, एलबि क्षेत्री, मुसरफ इजहारले समान २ विकेट लिए भने मनिष राज पाण्डे र बसन्त शाहीले १/१ विकेट लिए। ब्याटिंगतर्फ कप्तान उत्तम कर्माचार्यले सर्वाधिक २४ रन बनाए भने मुसरफ इजहारले १३, मनिषराज पाण्डेले १३ रन बनाए। गणेश शाही १२ र जगत टमाटा २ रनमा अविजित रहदा खेल वर्षाले रोकिएको थियो। बंगलादेशको ब्याटिंगमा हरुनुर रशिदले ५२ , अक्रम खानले ५१ तथा अमिनुल इस्लामले ४० रन बनाएका थिए। यस्तै बलिंगमा सैफुल इस्लामले १२ रन खर्चेर २ विकेट लिएका थिए।

पहिलो विकेट : नेपाली राष्ट्रिय टिमको लागि बंगलादेश बिरुद्ध पहिलो विकेट लिने भाग्यमानी बलर बसन्त शाही बन्न पुगे। दायाँ हाते तीव्र गति बलर शाहीले बंगलादेशका ब्याट्सम्यान शाहरियर हुसेनलाई क्याच आउट गराएर इतिहास रचेका थिए। ८ विकेट लिंदै शाही एसीसी ट्रफी १९९६ मा नेपालको लागि सर्वाधिक विकेटकर्ता समेत रहेका थिए।

राजु खड्का, संजय गुरुङ र बसन्त शाही। शाहीले नेपालको लागि पहिलो विकेट दिलाएका थिए।

पहिलो जित : नेपालले प्रतियोगिताको दोश्रो खेल जापान बिरुद्ध सेप्टेम्बर ७ मा खेलेको थियो। उक्त खेलमा जापानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो। जापानले दिएको ७३ रनको लक्ष्य नेपालले १५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको लागि एलबि क्षेत्रीले ८ रन खर्चेर सर्वाधिक ३ विकेट ( ६-२-८-३ ) , बसन्त शाहीले २ विकेट ( ५-२-५-२ ), राजु खड्का ( ८-२-१७-१ ) , मनिष राज पाण्डे ( ८-२-१७-१ ) र पवन अग्रवाल ( ३-१-७-१ ) ले समान १/१ विकेट लिएका थिए।

ब्याटिंगमा ओपनर मनिष राज पाण्डेले सर्वाधिक २७ रन बनाए जुन क्रममा २० रन बनाएका अर्का ओपनर संजय गुरुङसंग पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। राजु खड्का ८ तथा बसन्त शाही ७ रन बनाएर अविजित रहे। पाण्डेनै खेलको प्लेयर अफ द म्याच चुनिएका थिए जो नेपालको लागि प्लेयर अफ द म्याच चुनिने पहिलो क्रिकेटर बन्न पुगे।

फिजीसंग फराकिलो हार : प्रतियोगितामा त्यसपछि तेश्रो खेलमा नेपाल फिजीसंग १ सय २३ रनले पराजित हुन पुगेको थियो। फिजीले दिएको २ सय ५८ रन लक्ष्य पछ्याउदा नेपाल १ सय ३४ रनमा समेटिन पुगेको थियो। फिजीका ब्याट्सम्यान लेसिभो सोरोभाकाटिले ७० तथा जोएलि माटेयावाले ६५ रन बनाएका थिए। नेपालको बलिंगमा मुसरफ इजहार र बसन्त शाहीले २/२ विकेट लिए। ब्याटिंगमा पवन अग्रवालले ३३, गणेश शाहीले २४ तथा एलबि क्षेत्रीले २३ रन बनाएका थिए।

ब्रुनाई बिरुद्ध जित र पवन अग्रवालको ऐतिहासिक अर्धशतक : चौथों खेलमा नेपालले प्रतियोगिताको दोश्रो जित दर्ता गर्ने क्रममा नेपालले पहिले ब्याटिंग गर्दै ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो जसपछि ब्रुनाईलाई ६४ रनमा सिमित गरेको थियो। नेपालको ब्याटिंगमा पवन अग्रवालले नेपालको लागि इतिहासकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ८० रन बनाएका थिए जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए। नेपालको बलिंगमा मुशरफ इजहारले ८ रन खर्चेर तथा मनिष राज पाण्डेले २२ रन खर्चेर समान ३ विकेट लिएका थिए।

पवन अग्रवाल र मनिषराज पाण्डे। अग्रवालले पहिलो अर्धशतक बनाएका थिए भने पाण्डे पहिलो म्यान अफ द म्याच घोषित भएका थिए

हंगकंगसंग पराजय पछि समूह चरणबाट बाहिर : पाँचौ तथा अन्तिम खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको थियो। नेपालले दिएको १ सय ३८ रनको लक्ष्य हंगकंगले ३३.३ ओभरमा पुरा गर्यो। नेपालको ब्याटिंगमा मुशरफ इजहारले सर्वाधिक ४७ रन, किरण रानाले २५ तथा गणेश शाहीले २३ रन बनाएका थिए। हंगकंग बलर रभी सुजानानीले ४ विकेट लिएका थिए भने ब्याटिंगमा मार्क निलले ४३ रन बनाए। नेपालको बलिंगमा बसन्त शाहीले २ तथा मनिष राज पाण्डे र एलबि क्षेत्रीले समान १ विकेट लिए।

५ खेलमा २ जित र ३ हार पछि नेपाल समूह चरण बाट बाहिरिएको थियो। नेपाललाई समूह चरणमा पराजित गरेको बंगलादेशले उक्त प्रतियोगिताको उपाधि फाइनलमा युएईलाई १०८ रनले पराजित गर्दै जितेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको १८ वर्षपछि सन् २०१४ मा नेपालले पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल हंगकंग बिरुद्ध खेलेको थियो। त्यसपछि नेपालले २०१८ मा अर्थात् डेब्युको २२ वर्षपछि नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नयाँ फड्को मार्न सफल भयो। अन्तर्राष्ट्रिय क्रिकेटमा आगमन २५ औं वर्षमा टेक्दा नेपाली क्रिकेट टिमको आगामी लक्ष्य टेस्ट राष्ट्र बन्ने रहेको छ।

तस्विरहरुमा नेपालको पहिलो सहभागिताको याद

मनिषराज पाण्डे र पवन अग्रवाल
पहिलो म्यान अफ द म्याच मनिष राज पाण्डे
मलेसिया प्रस्थान गर्नु अघि नेपाली टिमको विदाई
जगत टमाटा, बसन्त शाही र किरण राणा
किरण राणा, बसन्त शाही र पुकार पन्त
प्रतियोगिताको दौरान अफिसियल पार्टीमा नाच्दै जगत टमाटा, बसन्त शाही, किरण राणा र राजु खड्का

( फोटो श्रोत – बसन्त शाही र मनिष राज पाण्डे )

यो पनि पढ्नुस :- कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]