नेपाल आइपुगे ग्रेट हिमालय एकेडेमीका श्रीलंकन प्रशिक्षक

ग्रेट हिमालय क्रिकेट एकेडेमीका श्रीलंकन प्रशिक्षक मिहिराज वसन्था बिहिबार नेपाल आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकेडेमीका निर्देशक सुदिप शर्माले स्वागत गरे।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को लेभल-३ प्रशिक्षक मिहिराजले काठमाडौँको शान्तिनगर र ललितपुरको हात्तीवनमा अवस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा तिन महिना नियमित प्रशिक्षण दिने छन्। शुक्रबार देखिनै उनले प्रशिक्षण सुरुवात गर्ने छन्।

बिगत १५ वर्ष देखि प्रशिक्षकको रुपमा कार्यरत मिहिराजले श्रीलंकाको महिला राष्ट्रिय क्रिकेट टिमको २०१३ मा सहायक ब्याटिंग प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन्। यस्तै उनले २०१७ मा प्रशिक्षक डेभ व्हाटमोरसंग भारतको चेन्नाईमा सेन्टर अफ स्पोर्ट्स साइन्समा काम गरेका थिए।

उनले श्रीलंका, युएई, भारत र इंग्ल्यान्डमा काम गरिसकेका छन्। भर्खरै मात्र उनि भारत बैंगलोरको शिन्स क्रिकेट एकेडेमीमा प्रमुख प्रशिक्षकको भूमिकामा थिए। सन् १९९९ देखि २००६ सम्म श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेलेका मिहिराजले इंग्ल्यान्डमा समेत क्रिकेट लिग खेलेका थिए।

मिहिराज जुलाई २०२२ सम्म नेपालमा रहनेछन्। यस क्रममा उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीको हत्तिबन र शान्तिनगरमा रहेको एकेडेमीमा प्रशिक्षण गर्नेछन्। यस क्रममा उनले एकेडमीमा अन्तर्राष्ट्रिय स्तरमा अभ्यास सिस्टम समेत विकास गर्न सघाउने छन्। उनि नेपालमा रहंदा उनले काठमाडौँ बाहेक अन्य स्थानहरुमा समेत प्रशिक्षण शिविर संचालन गर्ने योजना एकेडेमीले बनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको स्तरीय प्रशिक्षकलाई नियुक्त गरेकोमा ग्रेट हिमालय क्रिकेट एकेडेमीका प्रशिक्षक सुदिप शर्माले आफ्नो प्रयास खेलाडीहरुलाई सक्दो स्तरीय प्रशिक्षण प्रदान गर्ने रहेको बताए –

“हामि हाम्रो एकेडेमीमा उच्च स्तरीय प्रशिक्षकलाई स्वागत गर्न पाउँदा खुसि छौँ। ग्रेट हिमालय क्रिकेट एकेडेमीले सधैं स्तरीय प्रशिक्षण दिने प्रयास गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक नियुक्त गर्दा विद्यार्थीहरुलाई लाभ हुनेछ। यो अवधिमा उनीहरुले अनुभवी प्रशिक्षकको अन्डरमा उत्कृस्ट प्रशिक्षण प्राप्त गर्नेछन्।”

“ग्रेट हिमालय क्रिकेट एकेडेमीमा सबैभन्दा उत्कृस्ट अभ्यास सुविधा छ जसमा अब अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक समेत जोडिएका छन्। यो कदमले युवा खेलाडीहरुलाई अझ फाइदा पुग्ने विश्वास छ।” शर्माले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy