- विकेटनेपाल , असोज – १७
आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले सजिलै पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।
नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे। प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन ( ५ बल,१ छक्का र १ चौका ) बनाएर आउट भए। म्यानमार बलर टेट वाई र पेंग डानुले समान १/१ विकेट लिए।
म्यानमार २९ रनमै अलआउट
बायुमास ओभल मैदानमा टस जितेर ब्याटिंग रोजेको म्यानमारले अत्यन्त कमजोर ब्याटिंग प्रदर्शन गदै १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको थियो।
म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिनेक्रममा २ ओभरमा ३ रन खर्चिए। यस्तै ललित राजबंशीले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ३ रन खर्चिए। ललित भण्डारी र करन केसीले समान १/१ विकेट हात पारे।

यस अघि सन् २००६ मा नेपालले म्यानमारलाई २ बलमै पराजित गर्दै इतिहास रचेको थियो।
सन् २००६ को एसीसी ट्रफीमा नेपालले पहिलो पटक म्यानमारसंग पहिलो र अन्तिम पटक खेलेको थियो। त्यस बाहेक नेपाली यु-१६ क्रिकेट टिमले गत बर्ष एसीसी यु-१९ ( इस्टर्न रिजन ) मा म्यानमारसंग खेल्नु बाहेक कुनै पनि स्तरको नेपाली टिमले म्यानमारसंग खेलेको छैन।
२००६ मा नेपाली सिनियर टिमले म्यानमारलाई १० विकेटले पराजित गर्दा मात्र १० रनमा म्यानमारलाई समेट्दै नेपालले २ बलमै खेल जितेको थियो। उक्त खेललाई बिश्व क्रिकेटमै सबैभन्दा छोटो खेल मध्येको एक खेलको रुपमा लिईने गरिन्छ।
यस्तै नेपाल यु-१६ टिमले गत बर्ष डिसेम्बरमा एसीसी यु-१९ ( इस्टर्न रिजन ) प्रतियोगितामा म्यानमारलाई ३३७ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा नेपालले निर्धारित ३५ ओभर ३५० रन बनाएको थियो र ३५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमार १३ रनमै समेटिएको थियो।
सन् २००६ मा आईसीसीको एफिलीएट सदस्यता पाएको म्यानमारले त्यसपछि सन् २०१७ जुनमा बल्ल एसोसीएट राष्ट्रको मान्यता पाएको हो।