ओमान विरुद्ध नेपालको ५६ रनको जित

२०८१ आश्विन १७, बिहीबार १३:५१

क्यानडामा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९.५ ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५, अकिब इलियासले २२ तथा प्रतिक अथाभलेले १२ रन बनाए।

नेपालको बलिंगमा लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले १. ५ ओभरमा १० रन खर्चिए। यस्तै देब्रे हाते फास्ट बलर रिजन ढकाल ( २-०-१७-२ ) , सन्दिप लामिछाने ( ४-०-१२-२ ) र कप्तान रोहित पौडेलले ( १-०-७-२ ) समान २ विकेट लिए।

ओमानलाई सुरुवात देखि दबाबमा राख्न रिजन ढकालले सुरुवाती दुई विकेट लिंदै कश्यप प्रजापति र शोयब खानलाई पेभेलियन फर्काए। तेश्रो विकेटको लागि अकिब इल्यास र जिशान मक्सुदले ४० रनको साझेदारी गरे। नवौं ओभरको अन्तिम बलमा इल्यासलाई सन्दिप लामिछानेले क्याच आउट पार्दै नेपाललाई खेलमा फर्काए। एघारौं ओभरको पहिलो बलमा खालिद कैललाई दिपेन्द्र ऐरीले रन गर्दा ओमानको पारि डगमगायो। कप्तान रोहित पौडेलले तेह्रौं ओभरको पहिलो र तेश्रो बलमा जिशान मक्सुद र रफीउल्लाहको विकेट लिंदा खेलमा नेपाल हावी बन्न पुग्यो। सन्दिपले व्यक्तिगत दोश्रो विकेटको रुपमा आयान खानलाई क्याच आउट पारे। ओमानको अन्तिम तिन विकेट कुशल भुर्तेलले लिंदै पारि समाप्त पारे।

रोहित पौडेलले अर्धशतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो।

नेपालको लागि कप्तान रोहित पौडेलले टि-ट्वान्टी अन्तर्राष्ट्रिय करियरको सातौँ अर्धशतक बनाउने क्रममा सर्वाधिक ५६ रन योगदान दिए। अविजित रहँदै उनले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रोहित बाहेक अन्य नेपाली ब्याटरले ठूलो योगदान दिन सकेनन्। कुशल मल्लले २६ बलमा १ छक्का मद्दतले १९ रन बनाए भने करियरको तेश्रो टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका देव खनालले १८ बलमा ३ चौका मद्दतले १८ रन बनाए। ओपनर आसिफ शेखले १४ बलमा १ चौका र १ छक्का मद्दतले १६ तथा अनिल शाहले ५ बलमा १ चौका र १ छक्का मद्दतले ११ रन बनाए। आठौं नम्बरमा ब्याटिंग गरेका कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का मद्दतले ११ रन बनाए। गुल्सन झाले २ तथा दिपेन्द्र ऐरीले १ रन बनाउन सके।

एक समय ५५ रन बनाउदा ३ विकेट गुमाएको नेपालको पारि उकास्ने क्रममा रोहतले कुशल मल्लसंग ४५ रनको साझेदारी गरे। पन्ध्रौ ओभरमा कुशल आउट भएपछि पनि रोहितले अन्तिमसम्म ब्याटिंग गर्दै नेपाललाई राम्रो योगफलतर्फ डोर्याए।

ओमानको बलिंगमा फय्याज बटले २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। कलिमुल्लाह, शकिल अहमद र अकिब इल्यासले समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले ओमानलाई यस अघिको खेलमा पनि ३७ रनले पराजित गरेको थियो। तर घरेलु टोलि क्यानडासंग भने नेपाल दुवै खेलमा पराजित भयो। पहिलो खेलमा १४ रनले तथा दोश्रो खेलमा ४ विकेटले नेपाल पराजित हुन पुग्यो।

नेपालको आगामी खेल तालिका 

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज र टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजपछि अब नेपाली क्रिकेट टिम अमेरिका भ्रमणमा जानेछ। अमेरिकामा नेपालले घरेलु टोलिसंग तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिकाछ। अक्टोबर १८ तारिख शुक्रबार, अक्टोबर २० तारिख आइतबार र अक्टोबर २१ तारिख सोमबार नेपालले खेल खेल्नेछ। तिन वटै खेल नेपाली समय विहान ५:४५ बजे सुरु हुनेछ।

टि-ट्वान्टी सिरिज पछि नेपालले अमेरिका र स्कटल्याण्डसंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सिरिजको पहिलो खेल अमेरिकासंग अक्टोबर २७ तारिखमा खेल्नेछ। दोश्रो खेल स्कटल्याण्डसंग अक्टोबर २९ तारिखमा, तेश्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासंग तथा चौंथो खेल नोभेम्बर ४ तारिखमा स्कटल्याण्डसंग खेल्नेछ। त्यसपछि नेपाली टिम स्वदेश फर्कने तालिकाछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy