रोहितको अर्धशतकमा नेपालद्वारा युएई ७ विकेटले पराजित

कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गरे । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

रोहितले विजयी चौका प्रहार गरी आफ्नो अर्धशतक पनि पूरा गरे । रोहितले ४० बलमा पाँच चौकासहित ५१ रन बनाउनुभयो । रोहितले १२ रनमा छँदा जीवनदान पाएका थिए । रोहित म्यान अफ दि म्यान बने । दीपेन्द्रसिंह ऐरी पनि २३ बलमा ३४ रन बनाएर अविजित रहे । दीपेन्द्रको पालिमा तीन चौका र एक छक्का सामेल थियो ।

यी दुईले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । यी दुईको साझेदारी बन्नुअघि नेपालले नवौँ ओभरमा ५१ रन बन्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल १४ बलमा एक चौकासहित १४ रन बनाएपछि स्पिनर निलान्स केसवानीको बलिङमा क्याच आउट भए । वन डाउन ब्याट्सम्यान कुशल मल्ल (९ बलमा ११ रन)का रूपमा नेपालको दोस्रो विकेट निस्कियो । आसिफ शेखसँग रन लिने क्रममा तालमेल नमिलेपछि कुशल रन आउट भए । कुशल आउट भएको दुई ओभरपछि आसिफ पनि अलि नसिरको स्लो बललाई ठम्याउन नसक्दा युएईका कप्तान मोहम्मद वासिमद्वारा क्याच आउट भए । आसिफले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाए ।

यसअघि तेज बलर करण केसीको शानदार बलिङले युएई ठुलो स्कोर बनाउनबाट वञ्चित भएको हो । युएईका लागि बासिल हामिदले ३८ बलमा सबैभन्दा बढी ५१ रन बनाए । उहाँको पालिमा चार छक्का र एक चौका सामेल थियो । बासिलले नासिरसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरी युएईको पालिको उद्धार गरे । नसिरले ३० बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

नेपालले खेलको पहिलो ओभरमा नै सफलता पाएको थियो । प्रारम्भिक बलर सोमपाल कामीले खालिद शाहलाई शून्यमा आउट गरेर पहिलो सफलता दिलाएका थिए। त्यसपछि करण र गुलसन झाले युएई को मध्यक्रमलाई कमजोर बनाए । करणले चार ओभरमा मात्र १९ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गरे । गुलसनले तीन ओभरमा ११ रन दिएर दुई विकेट लिए । आज महँगो साबित भएका अर्का तेज बलर अविनाश बोहाेराले अन्तिम ओभरमा विकेट लिएर विकेटकर्ताको सूचीमा आफ्नो नाम लेखाए ।

स्पीनर मौसमको पदार्पण

युएईको पालिमा नेपालका तीनै स्पिनरले विकेट लिन सकेनन् । नेपालका लागि आज स्पिनर मौसम ढकालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेले पनि खेल्नुभयो तर उहाँको पदार्पण ठिकठाक मात्र बन्यो । स्पिनर मौसम ढकालले दुई ओभरमा १३ रन खर्चेर विकेटविहीन बने ।

‘बलिङले खेल जित्यौँ’

युएईका कप्तान वासिमले लक्ष्य जोगाउने क्रममा सुरुको दस ओभर राम्रो बलिङ गरेपनि रोहित र दीपेन्द्रको ब्याटिङले खेल युएईबाट पर पुर्‍याएको प्रतिक्रिया दिए । यसैगरी नेपालका कप्तान रोहितले नेपालले बलिङ राम्रो गर्दा खेल जित्न सकेको बताए । उनले भने, ‘‘ब्याटिङ अझ राम्रो हुनसक्थ्यो तर जितमा खुसी छु ।’’

( साभार – गोरखापत्र )





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]