तेश्रो खेलमा युएई पराजित, नेपालको इतिहासकै पहिलो ओडीआई सिरिज जित

Nepal Cricket Team
  • विकेटनेपाल, माघ -१४ सोमबार 

घरेलु टिम युएईलाई तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ।

युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पछि दोश्रो खेलमा नेपालले १४५ रनको जित दर्ता गर्दै सिरिज बराबरी गरेको थियो। सिरिज जितको लागि निर्णायक तेश्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।

नेपालले गत वर्ष मार्चमा जिम्बाबेमा भएको एकदिवसीय बिश्व कप छनौट पछि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो। गत वर्ष अगस्टमा नेपालले नेदरल्याण्डसंग २ वटा खेलको सिरिज खेलेको थियो जुन १/१ को बराबरीमा सकिएको थियो। त्यसको ५ महिना पछि नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्ने सपना पुरा भएको हो।

युएई बिरुद्ध नेपालको जित एकदिवसीय अन्तर्राष्ट्रियमा तेश्रो जित हो। गत वर्ष नेदरल्याण्डलाई १ रनले पराजित गरेको नेपालले त्यसपछि जारि सिरिजकै दोश्रो खेलमा युएईलाई १४५ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको थियो।

युएईले पहिले ब्याटिंग गर्दै दिएको २५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ४४.४ ओभरमा पुरा गरेको हो।

पारस खड्काको शतकले दिएको आधार

२५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ओपनर बिनोद भण्डारीलाई चाडै गुमाउन पुग्यो। भण्डारी ९ रन बनाएर मोहम्मद नबिदको बलमा विकेटकिपरबाट समातिन पुगे।

भण्डारीको विकेट पछि ब्याटिंग गर्न आएका पारस खड्काले ओपनर ज्ञानेन्द्र मल्लसंग अर्धशतकीय साझेदारी गरे। १५ औं ओभरमा मल्ल ३१ रनको व्यक्तिगत स्कोरमा इमरान हैदरको एलबिडब्लु शिकार भए। लगत्तै ६ रन बनाएका दीपेन्द्र ऐरि पनि अश्फाक एहमदको बलमा बलरद्वारानै समातिन पुगे।

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलीरहेका सन्दिप जोरा पनि १९ रन बनाएर इमरान हैदरको बलमा क्याच आउट भए। उनले २० बलमा १/१ चौका/छक्का प्रहार गरे।

२५.१ ओभरमा १२९/४ पुगेको नेपालको योगफललाई त्यसपछि अघि बढाउने क्रममा पारसले रोहित पौडेलसंग पाँचौ विकेटको लागि अर्धशतकीय साझेदारी गरे। अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका पौडेल १६ रन बनाएर आउट भए अश्फाकको बलमा विकेटकिपर बाट समातिए।

रोहितको विकेटपछि पारस र आरिफ शेखले छैठौं विकेटको लागि ३२ रनको साझेदारी गरे।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि पहिलो शतक पुरा गरे पछि पारस खड्का ३९ औं ओभरमा कादिर एहमदको बलमा एलबिडब्लु आउट हुन पुगे। खड्काले १०९ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

पारसको विकेट पछि सोमपाल कामि र आरिफ शेखले सातौँ विकेटको लागि ४० रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए।

सोमपालले सिपि रिजवानले गरेको ४५ औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए। सोमपाल २६ रन तथा आरिफ २१ रनमा अविजित रहे। सोमपालले २५ बलमा ३ चौका र १ छक्का तथा आरिफले २४ बलमा २ चौका प्रहार गरे।

युएई बलर अश्फाक एहमद र इमरान हैदरले समान २/२ विकेट लिए भने मोहम्मद नबिद र कदिर एहमदले १/१ विकेट लिए।

युएईको ब्याटिंग 

दुबई स्थित आईसीसी एकेडेमी मैदानमा जारि खेलमा नेपालले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको थियो।

युएईको सुरुवात अत्यन्त खराब रह्यो। ओपनर अश्फाक एह्मदलाई सोमपालले र चिराग सुरीलाई करन केसीले खाता नखोल्दै विकेटकिपर बिनोद भण्डारीबाट क्याच थामौदा युएई २/२ को अवस्थामा पुग्यो।

अत्यन्त सुस्त सुरवात गरिने क्रममा युएईले सुरुवाती ९ ओभरमा ६ रन मात्र बनाएको थियो। तेश्रो विकेटको लागि घुलाम शब्बिर र मुहम्मद उस्मानले ४५ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। २० औं ओभरमा शब्बिरलाई सन्दिप लामिछानेले एलबिडब्लु धरापमा पारे जस अघि उनले १८ रन बनाए। लगत्तै ओभरमा पारस खड्काले २६ रन बनाएका उस्मानलाई पनि क्याच आउट गराउदा युएई ४७/४ को नाजुक अवस्थामा पुग्यो।

त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका सिपि रिजवान र शैमन अनवरले शतकीय साझेदारी गरे। ठिक १०० रन साझेदारी पुग्दा रिजवानलाई करन केसीले बिनोद भण्डारीको हातबाट क्याच आउट गराए। उनि ४५ रन बनाएर आउट भए जस अघि ७६ बलमा ५ चौका प्रहार गरे।

रिजवानको विकेट पछि पनि शैमन अनवरले एक किनार सम्हालीरहे भने अर्को किनारमा मोहम्मद बुताले उनको राम्रो साथ दिए। दुवैले छैठौं विकेटको लागि ७९ रनको साझेदारी गरे।

आक्रामक इनिंग खेलेका बुताले पारस खड्काले गरेको इनिंग ४९ औं ओभरको पहिलो २ बलमा छक्का प्रहार गरेका थिए। सोहि ओभरको चौथो बलमा आउट हुने क्रममा उनले  ठिक ५० रन बनाए।

उत्कृस्ट इनिंग खेलेका ४० वर्षीय अनवरले अविजित ९३ रनको ईनिङ्ग खेले जुन क्रममा १० चौका र २ छक्का प्रहार गरे। अन्तिम ओभरमा ब्याटिंग गर्न आएका कप्तान मोहम्मद नबिदले १ छक्का र १ चौका प्रहार गर्दै १२ रन बनाए। अनवरले सन् २०१४ को बिश्व कप छनौट प्रतियोगितामा पनि नेपाल बिरुद्ध १०९ रनको शतकीय इनिंग खेलेका थिए।

युएईले ५० ओभरमा ६ विकेट गुमाएर २५५ रनको योगफल तयार गर्यो। अन्तिमको ५ ओभरमा नेपाली बलरले ७९ रन खर्चिन पुग्दा युएईले ठुलो योगफल तयार गर्यो।

नेपालको बलिङ्गमा करन केसी र पारस खड्काले २/२ विकेट लिए। यस्तै सोमपाल कामिले १ विकेट लिए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]