- विकेटनेपाल,
कप्तान पारस खड्काले ब्याटिंग र बलिंग दुवैमा महत्वपूर्ण योगदान दिएपछि आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ।
वर्षाको कारण निर्धारित समय भन्दा ३ घण्टा ढिला सुरु भएपछि ३४ ओभरमा घटाइएको खेलमा टस हारेर ब्याटिंग गर्दै युएईले दिएको ११५ रनको लक्ष नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर भेटायो।
प्रतियोगिताको पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको नेपालले दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरेको थियो। ३ खेलमा २ जित र १ हार पछि नेपालको कुल ४ अंक भएको छ। नेपालले सोमबार केन्याको तथा बुधबार क्यानडाको सामना गर्नेछ।
आयोजक नामिबिया, नेपाल सहित युएई, ओमान, क्यानडा र केन्या गरि ६ टोलि सहभागी प्रतियोगिताको उत्कृस्ट २ टिम जिम्बाबेमा खेलिने २०१९ को एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न छानिनेछ।
पारसको आक्रामक ब्याटिंग
११५ रन लक्ष्य पछ्याउने क्रममा ओपनर ज्ञानेन्द्र मल्ल ( ५ रन ) र दिलिप नाथ ( २ रन ) मै आउट भए भने दिपेन्द्र ऐरी ( ४ रन ) पनि लामो समय क्रिजमा जम्न सकेनन्।
सातौँ ओभरमा २०/३ को अवस्थाबाट पारस खड्का र शरद भेसावकरले चौथो विकेटको लागि २६ रनको साझेदारी गर्दै स्कोर अघि बढाए। तर शरदले पारसको साथ धेरै बेर दिन सकेनन् र १३ औं ओभरमा व्यक्तिगत ३ रन बनाएर रोहन मुस्तफाको बलमा एलबुडब्लु आउट भएका थिए।
शरदको विकेट पछि पारसले पाँचौ विकेटको लागि आरिफ शेखसंग ३० रनको साझेदारी गरे र त्यसैबीच आफ्नो अर्धशतक समेत पुरा गरे। २ चौका र ५ छक्का प्रहार गर्दै ४८ बलमा ५१ रन बनाएपछि पारस आमिर हयातको बलमा क्याच आउट हुन पुग्दा नेपालले १८ औं ओभरमा ७६ रनको योगफलमा ५ विकेट गुमाउन पुग्यो।
पारसको विकेट पछि ब्याटिंग गर्न आएका रोहित पौडेल र आरिफ शेखले छैठौं विकेटको लागि २७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पार गराए। आरिफ शेख १६ रन बनाएर २८ औं ओभरमा अहमद राजाको बलमा एलबिडब्लु हुँदा नेपालको स्कोर १०३/६ पुग्यो।
आठौँ नम्बरमा ब्याटिंग गर्न आएका सोमपाल कामिले रोहितसंग सातौँ विकेटको लागि १२ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याए।
रोहितले अविजित १२ रन तथा सोमपालले १ छक्का मदतले अविजित १० रन बनाए।
युएईको इनिंग
वर्षाले मैदान भिजेका कारण निर्धारित समय भन्दा ३ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको थियो।
युएई इनिंगको पहिलो ओभरमै सोमपाल कामिले युएई ओपनर अस्फाक अहमदलाई खाता नखोल्दै पेभेलियन फर्काए। त्यसपछि सातौँ ओभरमा सोमपाललेनै १६ रन बनाएर ब्याटिंग गरिरहेका घुलाम शब्बिरलाई शरद भेसावकरको हातबाट क्याच आउट गराएका थिए।
२५ रनको स्कोरमा २ विकेट गुमाएको युएईले लगत्तै ओभरमा सोहि योगफलमै कप्तान रोहन मुस्तफा ( ७ रन ) लाई पनि गुमाएपछि ७.१ ओभरमा युएईको स्कोर २५/३ पुग्यो। मुस्तफालाई करन केसीले आउट गर्ने क्रममा प्रतियोगितामै विकेटको खाता पनि खोले।
३ विकेट गुमेपछि रामिज शाहजाद र शैमन अनवरले चौथो विकेटको लागि २९ रनको साझेदारी गर्दै खेलमा फर्किने प्रयास गरे। तर १८ औं ओभरमा आफ्नो पहिलो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले २ बलमा २ विकेट हात पारेपछि युएई ५४/५ खराब अवस्थामा पुग्यो।
त्यसपछि पनि युएईको विकेट झर्ने क्रम रोकिएन ३० रन बनाएर खेलीरहेका शैमन अनवरलाई सन्दिपले बोल्ड गरेपछि युएईको तल्लो क्रमलाई पारस खड्का र सोमपाल कामिले आउट गरे। १८ रन बनाएका अद्नान मुफ्ती र १५ रन बनाएका मोहम्मद बुटालाई पारसले आउट गरे भने एह्मद राजा ( ८ रन ) र मोहम्मद नाभेद ( १० रन ) को विकेट सोमपालले लिंदै युएई इनिंग समाप्त गरेका थिए।
सोमपालले सार्बधिक ४ विकेट ( ७-०-३-४ ) , सन्दिपले ३ विकेट ( ७-१-३०-३ ) तथा पारसले २ विकेट ( ७-२
-२०-२ ) हात पारे। करन केसीले १ विकेट ( ५-०-१७-१ ) लिए।
खेलको फोटोहरु