नेत्रहीन महिला क्रिकेट टिम पाकिस्तानमा, सिरिज जित्ने लक्ष्य

  • विकेटनेपाल, माघ १३ – आइतबार

पाकिस्तानसँग अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली नेत्रहीन महिला क्रिकेट टिम आज वगाह बोडर हुँदै पाकिस्तानको लाहोरमा पुगेको छ।

माघ १५ गतेदेखि सुरु हुन लागेको ५ टि-२० खेलको सिरिजको लागि पाकिस्तान पुगेको टिमलाई पाकिस्तानको नेत्रहीन क्रिकेट काउन्सिलका अध्यक्ष सहिद सुल्तान शाहले स्वागत गरेका छन्।

“पाकिस्तानमा हजुरहरुलाई स्वागत छ, यहाँ आउनुभएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं र हाम्रो स्वागत-सत्कार यहाँहरुमा रमाउनुहुनेछ भन्ने आशा पनि गर्दछौँ” शाहले नेपाली टिमको स्वागत गर्दै बताए।” 

टिमसँगै भ्रमणमा रहेका नेपालको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले समेत आफ्नो टिमलाई पाकिस्तान भ्रमणको निम्ता दिएकोमा पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिल परिवारलाई धन्यवाद दिए। अध्यक्ष सहिद सुल्तान शाहले नेपालको नेत्रहीन क्रिकेटमा पुर्याएको योगदानको समेत घिमिरेले प्रशंसा गरे।

सुल्तान शाहले सन् २००६ मा नेपालको नेत्रहीन क्रिकेट टिमको लागि केहि समय प्रशिक्षण क्याम्पसमेत संचालन गरेका थिए। उक्त समयमा महिला खेलाडीहरुले समेत पुरुष खेलाडीसँगै सिक्ने गर्थे भने पछी महिला क्रिकेट टिम बनेको थियो। शाह आफै एक नेत्रहीन क्रिकेट खेलाडी रहे जसले सन् १९९८ को नेत्रहीन विश्व क्रिकेट च्याम्पियनसिपमा पाकिस्तानको कप्तानको भूमिका निर्वाह गरेका थिए। पाकिस्तानले फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै उपविजेता बनेको थियो।

नेपालको कप्तान भगवती भट्टराईले आफुहरुले पाकिस्तानमा उत्कृस्ट प्रदर्शन गर्ने र सबैको मन जितेर फर्किने बिश्वास ब्यक्त गरिन। अभ्यास गर्नको लागि समेत पर्याप्त समय पाएकोले सबै खेलाडीहरु तयार रहेको जनाइन।

यस्तै पाकिस्तानका खेलाडीहरुले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजलाई याददार बनाउन आफुले सक्दो प्रयास गर्ने बताए। कप्तान रबिया शहजादीले आफुहरुले निकै कडा मेहनत गरेको र प्रशिक्षकहरुले समेत धेरै पक्षमा जोड दिएकोले आफ्नो टिम सन्तुलित रहेको बताईन।

खेलतालिका

पहिलो टि२०- जनवरी २९ (लाहोर)
दोश्रो टि२०- जनवरी ३१ (फैसलाबाद)
तेस्रो टि२०- फेब्रुअरी १ (फैसलाबाद)
चौथो टि२०- फेब्रुअरी ३ (इस्लामावाद)
पाँचौ टि२०- फेब्रुअरी ४ (इस्लामावाद)

नेपाली टिम: रिता थापा, आशा रेग्मी, मुना अर्याल, हिता गुरुङ, सरिता घिमिरे, सुष्मा तामांग, आयुष्मा क्षेत्री, भगवती अमागाई, बिमला राई, मनकेशरी चौधरी, भुमा खरेल, बिनिता पुन, गीता पौडेल, भगवती भट्टराई, आशिका चौधरी

(समाचार तथा तस्बिर श्रोत: नेत्रहीन क्रिकेट परिषद्, पाकिस्तान)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy