नेपालले अफगानिस्तानलाई पराजित गर्नसक्ने ४ कारण

Nepal Cricket Team
  • विकेटनेपाल, फाल्गुन २६ 

जिम्बाबेमा जारि आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज अफगानिस्तानको सामना गर्दै छ। प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

Nepal vs Afghanistan
Nepal vs Afghanistan

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ। नेपाल र अफगानिस्तानले एकदिवसीय क्रिकेटमा हालसम्म कुल ६ पटक खेलेका छन् जसमा नेपालमाथि अफगानिस्तान हावी हुँदै आएको छ।

अत्यन्त महत्वपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्ने लक्ष्य सहित मैदान उत्रँदा अफगानिस्तानको निम्न ४ कमजोरी नेपालको जितको कारण बन्नसक्छन्-

१. अफगानिस्तानको खराब फर्म 

प्रतियोगितामा अफगानिस्तानले खेलेको ३ वटै खेलमा हार बेहोरेको छ जसकारण सुपर सिक्स चरण पुग्ने सम्भावना निकै कम रहेको छ। पहिलो खेलमा स्कटल्याण्डसंग ७ विकेटले,  जिम्बाबेसंग २ रनले तथा तेस्रो खेलमा हंगकंगसंग ३० रनले ( डी/एल ) अफगानिस्तानले पराजय बेहोरिसकेको छ। जिम्बाबेसंगको खेल बाहेक अन्य २ वटै खेलमा अफगानिस्तान सहजै पराजित भएको छ। अफगानिस्तान कमजोर देखिएको छ भने खराब प्रदर्शनले झनै दबाबमा रहेको छ जुन अवस्थाको फाइदा नेपालले उठाउने गजबको मौका रहेको छ।

२. महत्वपूर्ण २ खेलाडी बिहिन अफगानिस्तान

प्रतियोगिता अघि अफगानिस्तान टिमलाई झट्का त्यतिबेला लाग्यो जब नियमित कप्तान अस्घर स्टानिक्जाई एपेन्डिक्सको समस्याको कारण शल्यक्रिया गर्नुपर्यो जसकारण उनले प्रतियोगितानै गुमाउनु पर्यो। उनको ठाउँमा १९ बर्षिय राशिद खानलाई कप्तान नियुक्त गरियो जसले कप्तानको रुपमा कुनै जादु देखाउन सकेनन् फलस्वरुप पहिलो ३ वटै खेलमा हार बेहोर्यो।

घाउमा नुन छर्किन पुनः अर्को झट्का अफगानिस्तानलाई लाग्यो। ओपनर तथा विकेटकिपर मोहम्मद शहजादलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २ खेलको लागि निलम्बन गर्यो। जिम्बाबेसंगको दोश्रो खेलमा आउट हुँदा पिचमा ब्याटले हिर्काएपछि १ डिमेरिट अंक पाउदा उनले सजाय स्वरूप २ हंगकंग र नेपालसंग २ महत्वपूर्ण खेल गुमाउनु पर्यो। महत्वपूर्ण प्रतियोगितामा कप्तान नखेल्नु तथा आक्रामक ओपनर गुमाउनु अफगानिस्तानको हारको प्रमुख कारण मानिएको छ।

३. ब्याटिंग कमजोर

प्रतियोगितामा अफगानिस्तानको ब्याटिंग नचल्नु अफगानिस्तानको चिन्ता बनेको छ। तुलनात्मक रुपमा कमजोर आंकीएको हंगकंगसंग हार बेहोर्दा २४२ रन लक्ष्य पछ्याउने क्रममा १९५ रन मात्रै बनाउन सकेको अफगानिस्तानले त्यसअघि जिम्बाबेसंग हार्ने क्रममा पनि १९७ रनको लक्ष्य पनि पछ्याउन सकेन। पहिलो खेलमा स्कटल्याण्डसंग तुलनात्मक रुपमा राम्रो ब्याटिंग गरेपनि बुलावायोको पिचमा अफगानिस्तानले दिएको २५६ रनको लक्ष स्कटल्याण्डले मात्र ३ विकेट गुमाएर सहजै पछ्याएको थियो। ३ खेल मध्ये पहिले ब्याटिंग गर्दा स्कटल्याण्डसंग केहि राम्रो ब्याटिंग गरेपनि स्कटल्याण्ड र हंगकंगसंग लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले दुवै खेलमा कमजोर ब्याटिंग गर्दा हार बेहोरेको थियो।

४. स्पिनरमा निर्भर, असफल तिब्र गति बलिंग

रासिद खान, मुजिब उर् रहमान र मोहम्मद नाबी जस्ता स्टार स्पिनरहरु टिममा रहेको अफगानिस्तानको बलियो पक्ष स्पिननै हो। ३ जना स्पिनरहरुले पहिलो ३ वटा खेलमा अफगानिस्तानले बिपक्षी टिमको लिएको कुल २१ विकेट मध्ये १६ विकेट लिएका छन्। यस मध्ये पनि मुजिब उर् रहमान एक्लैले ८ विकेट लिएका छन्। फास्ट बलरहरुको विश्लेषण गर्दा ३ खेलमा दौलत जद्रानले २ विकेट मात्र लिन सकेका छन्। यस्तै शापुर जद्रानले २ खेलमा १ विकेट तथा गुल्बोदीन नाइबले २ खेलमा १ विकेट लिन सकेका छन्।

स्पिननै बलियो पक्ष देखिएको अफगानिस्तान जित्न स्पिनरमै निर्भर रहेको अवस्थामा यदी स्पिनरले सफलता नदिलाए अफगानिस्तान मुस्किलमा पर्न सक्छ। जारि प्रतियोगितामा स्कटल्याण्डसंग रासिद खान र मोहम्मद नाबीले खास प्रदर्शन नगर्दा स्कटल्याण्डले २५६ रनको लक्ष्य सहजै पछ्याएको थियो।नेपाली ब्याट्सम्यानहरु स्पिन खेल्न राम्रो मानिने गर्छन र यो अवस्थामा यदी नेपालले स्पिनरहरुलाई विकेट नदिने हो भने अफगानिस्तानसंग राम्रो स्कोर बनाउने सम्भावना ज्यादा रहने गर्छ।अफगानिस्तानको बलियो पक्ष स्पिनरलाई सफल हुन नदिने हो भने नेपालले जित हाँसिल गर्ने प्रमुख आधार बन्न सक्छ।





थप समाचार

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]

विश्वकप लिग-२ : नेपालको अमेरिका भ्रमणको खेल तालिका सार्वजनिक

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कार्तिक ९ देखि […]

अस्ट्रेलियालाई सिरिजमा अग्रता

काठमाडौं । तिन खेलको टि२० आई सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा जित निकालेको छ । […]

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम […]

यु–१९ महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का […]

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]