- विकेटनेपाल, बैशाख-१
मलेसियामा जारि आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आयोजक मलेसियासंग खेल्दैछ। बायुमास ओभल मैदानमा हुने खेल नेपाली समय ७:४७ बजे बिहान र मलेसिया स्थानीय समय १० बजे बिहान सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपालले दोश्रो खेलमा युएईसंग दुर्भाग्यपूर्ण तरिकाले १ रनको ( डी/एल मेथड ) हार बेहोर्यो। नेपालको जित्ने सम्भावना धेरै हुँदा हुँदै वर्षाको कारण युएईले फाइदा उठाएको थियो जसपछि नेपालको विश्वकप सम्भावना मुस्किल देखिएको हो।
अंक तालिकामा कुवेत र युएईले २ खेलमा दुई जित हात पार्दै ४ अंक बटुल्दै नेट रन-रेटको आधारमा पहिलो र दोश्रो स्थानमा रहेको छ। ओमान र नेपालले २ खेलमा १ जित र १ हार बेहोरेका छन् भने मलेसिया र सिंगापुरले खेलेको दुवै खेलमा हार बेहोरीसकेका छन्।
नेपाल सहित, मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा अन्डर-१९ विश्वकपमा छनौट हुनेछ। प्रतियोगिता जित्नु बाहेक अन्य बिकल्प नेपालसंग नहुँदा युएईसंगको हार पछि अब नेपालले छनौटको आशा जगाई राख्न आगामी खेलहरु जित्नु पर्नेछ भने युएई र कुवेत दुवैको कम्तिमा एउटा हारको कामना गर्नु पर्नेछ। तुलनात्मक रुपमा मलेसिया, ओमान र सिंगापुर कमजोर रहेकोले उनीहरुलाई उपाधिको रेसमा यहाँ समावेस गरेका छैनौँ।
प्रतियोगिता अन्तर्गत सोमबार आयोजना हुने खेलहरुमा नेपालले मलेसियाको, कुवेतले युएईको तथा ओमानले सिंगापुरको सामना गर्दैछ। नेपालले कुवेतसंग १ खेल खेल्न बाँकी रहेको अवस्थामा यदी भोलिको खेलमा युएईलाई कुवेतले पराजित गरेको खण्डमा नेपालको सम्भावना पुनः प्रवल हुनेछ। युएई र कुवेतले कम्तिमा १/१ खेल हारेर नेपालले आगामी सबै खेल जितेको खण्डमा अन्तिममा नेट-रन रेटको आधारमा नेपाल, युएई र कुवेत मध्ये १ टिम विजेता हुने सम्भावना रहन्छ। तुलनात्मक रुपमा नेपालले अब कमजोर टिमसंग खेल्ने छ र नेट-रन रेट पनि राम्रो हुँदा नेट-रन रेटमा नेपाल अघिनै रहने सम्भावना रहन्छ।
प्रतियोगितामा नेपाल, युएई र कुवेतले खेल्न बाँकी खेलहरु :-
नेपालको – मलेसिया, कुवेत र ओमानसंग
युएईको – कुवेत, ओमान र सिंगापुरसंग
कुवेतको – युएई, नेपाल र मलेसियासंग
यदी भोलि युएईलाई कुवेतले पराजित गर्छ र नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेपालले कुवेतसंग जित निकाल्नु पर्नेछ। प्रा]तियोगितामा अब नेपालले मलेसिया, ओमान र कुवेतसंग खेल्न बाँकी रहेको छ।
पराजित गर्ला त युएईलाई कुवेतले ?
प्रतियोगितामा कुवेतले २ खेलमा २ जित निकाल्ने क्रममा पहिलो खेलमा ओमानलाई ८ विकेटले तथा दोश्रो खेलमा सिंगापुरलाई पनि ८ विकेटलेनै सहजै पराजित गरेको छ।
ओमानले दिएको १०६ रनको लक्ष्य कुवेतले २० औं ओभरमा २ विकेट गुमाएर तथा सिंगापुरले दिएको ९४ रनको लक्ष्य २३ औं ओभरमा २ विकेटनै गुमाएर पुरा गरेको थियो। दुवै खेलमा कुवेतले राम्रो बलिङ्ग प्रस्तुत गरेको थियो। ओमानले ३४.२ ओभरमा र सिंगापुर ४३.५ ओभरमा अल-आउट भएको थियो।
इतिहासको कुरा गर्ने हो भने पछिल्लो पटक कुवेत र युएई अन्डर-१९ टिमले सन् २०१६ को विश्वकप छनौट एसिया डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा युएईले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो। अन्तिम-३ प्रतिस्पर्धाको कुरा गर्ने हो भने युएईलाई कुवेतले पराजित गरेको छैन।
प्रतियोगिताको फर्मको कुरा गर्ने हो भने कुवेतले युएईलाई पराजित गर्ने सम्भावना त देखिन्छ तर पछिल्लो समय सुधारिएको युएईको फर्म हेर्दा कुवेतको जित सहज भने छैन।
नेपालले २०२० अन्डर-१९ विश्वकप खेल्न अब भाग्यमा पनि भर पर्नु पर्नेछ। भाग्यको कुरा गर्ने हो भने नेपालले बिगतमा ठुलो साथ पाएको इतिहास छ। तसर्थ अब नेपालले आगामी सबै खेल जित्ने र बाँकी खेलमा युएई र कुवेतले कम्तिमा १ खेल हार्ने कामना गरौँ।
प्रतियोगितामा हालसम्मका नतिजाहरु :-
नेपाल :- सिंगापुरसंग २१७ रनको जित, युएईसंग १ रन ( डी/एल मेथड ) को हार
कुवेत :- ओमनसंग ८ विकेटको जित, सिंगापुरसंग ८ विकेटको जित
युएई :- मलेसियासंग ५ विकेटको जित , नेपालसंग १ रन ( डी/एल मेथड ) को जित
ओमान :- कुवेतसंग ८ विकेटको हार, मलेसियासंग ४६ रनको जित
सिंगापुर :- नेपालसंग २१७ रनको हार, कुवेसंग ८ विकेटको हार
मलेसिया :- युएईसंग ५ विकेटको हार, ओमनसंग ४६ रनको हार