नेत्रहीन महिला क्रिकेट: पाकिस्तान बिरुद्द नेपालको क्लिनस्विप, पाकिस्तानी १ लाख पुरस्कार

  • विकेटनेपाल, माघ २१ – सोमबार

पाकिस्तान भ्रमणमा रहेको नेपाली नेत्रहीन महिला क्रिकेट टिमले घरेलु टिमलाई सिरिजको अन्तिम तथा पाचौं खेलमा १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। जितसंगै ५ खेलको सिरिजमा नेपालले ४ खेलमा जित निकाल्दै क्लिनस्विप गर्यो। दोश्रो टि२० खेल बर्षाले रद्द भएको थियो।

नेत्रहीन महिला क्रिकेट अन्तर्गत भएको यो ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज थियो। नेपालले पहिलो र तेस्रो खेल समेत १०/१० विकेटको समान जित निकालेको थियो भने चौथो खेलमा ९ विकेटले बिजयी भएको थियो।

Manakeshi Chaudhari

सिरिजको तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै नेत्रहीन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी ओपनर मनकेशी चौधरीले आज भएको खेलमा समेत अर्धशतक प्रहार गरिन। केशीकै अविजित ८१ रनको मद्दतमा नेपालले पाकिस्तानले दिएको १२७ रनको लक्ष्य कुनै पनि विकेट नगुमाई १०.४ ओभरमा पुरा गरेको थियो। ३६ बलको सामना गरेकी उनले १५ चौकाको हानेकी थिईन।

अर्कोतर्फबाट आशा रेग्मीले समेत ३३ बलमा अविजित ३२ रन प्रहार गर्दा नेत्रहीन महिला क्रिकेट अन्तर्गत नेपालले कुनैपनि विकेटको लागि सर्बाधिक धेरै रनको साझेदारी गर्यो। यसअघि तेस्रो खेलमा अविजित १०२ रनको साझेदारी गरेको नेपालले आफ्नै किर्तिमानमा सुधार गरेको हो। उक्त खेलमा मनकेशीले बिनिता पुनसँग ओपनिंग गरेकी थिईन।

यसअघि लगातार तेस्रो पटक टस जितेको पाकिस्तानले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। पाकिस्तानले उत्कृस्ट सुरुवात गर्दै पहिलो विकेटको अर्धशतकीय साझेदारी गरेको थियो। उसका लागि ओपनर निशा बुकसले सर्वाधिक ४० रन बनाइन् भने तयावा फतिमाले २७ रन जोडिन्। घरेलु टिमले आफ्नो सबै विकेट रनआउटको माध्यमबाट गुमाएको थियो।

नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेशी चौधरी प्लेअर अफ दि म्याच घोषित भइन्। उनले २५ हजार हात पारिन्। यस्तै भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन्।सिरिज जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पार्‍यो। पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो।

सिरिजभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेशी चौधरी बी टु क्याटेगोरीतर्फ उत्कृष्ट बनिन्। यस्तै नेपालकै मुना अर्याले बी वान क्याटेगोरीतर्फ र नेपालकी विनिता पुन बी थ्री क्याटेगोरीतर्फ उत्कृष्ट घोषित भइन्। यस्तै पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेट किपर घोषित भइन्।

(Photos: Govinda Raj Nepal/NSJF)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy