– विकेटनेपाल, भदौ २२
एसिया कप छनौट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगो नेपाली क्रिकेटलाई पोस्टमार्टम गर्ने समय आएको बताएका छन्।
मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा खराब प्रदर्शन गर्दै नेपालले चौथो स्थानमा चित्त बुझाउनु परेको थियो।
प्रतियोगिता सकेर नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै कप्तान पारस यस्तो बताएका हुन्। एसिया कपमा छनौट हुने आशा बोकेको नेपाली टोलि कहाँ चुक्यो भन्ने प्रश्नको जवाफमा पारसले भने-
“हामीले उपलब्ध भएका उत्कृस्ट खेलाडीको टोलि बनाएका थियौं तर यो हप्ताभरिनै हामीले सोचे अनुरुप खेल्न सकेनौं। हामीले आफ्नो क्षमताको ४०% मात्र खेल्यौं।”
उनले थपे, “यो हारको जिम्मेवारी हामी आफैं लिन्छौं। सायद यस पटक हामीले धेरै सिकेका छौँ। अब लामो समयको लागि सोच्ने समए आएको छ। ट्रेनिंग देखि लिएर अब सबै कुरामा व्यक्तिगत खेलाडीहरुको खेल र टिमकोनै पोस्टमार्टम गर्ने समय आएको छ।”

प्रतियोगितामा आफुले खेलेका ५ खेल मध्ये २ मा मात्र जित दर्ता गर्न सकेको नेपालका लागि सिनियर खेलाडीले जिम्मेवारी लिन नसक्दा यो अवस्था आएको समेत कप्तान पारसले बताए। उनले भने-
“हामीले आफुलाई प्रमाणित गरिसकेका सिनियर खेलाडीहरुले यो प्रतियोगिता जिताउने आशा राखेका थियौं। तर म लगायत सबै सिनियर खेलाडीहरुले सोचे अनुसार प्रदर्शन गर्न सकेनौं र यो हारको जिम्मा समेत हामी सिनियर खेलाडीहरु लिन्छौं। म आफैंले पनि सायद राम्रो खेलेको थिए भने टिमले राम्रो गर्न सक्थ्यो तर त्यो हुन सकेन। युवा खेलाडीहरु अनिल, रोहित, आरिफ, दिपेन्द्र सबैले आफुले गर्न सक्ने योगदान गरे जुन कुरा भविष्यका लागि धेरै राम्रो हो।”
नेपाली टोलीलाई अब बिशेसज्ञ प्रशिक्षकको आवश्यकता रहेको कुरा समेत पारसले बताए-
“अब हामी एक दिवसीय राष्ट्र भएकाले पनी हामीलाई ब्याटिंग, बलिंग र फिल्डिंगमा प्रशिक्षकको खाँचो छ। हामीले अहिलेकै अवस्थामा समेत आउने ३ बर्षको लागि सोचेका छौँ र केहि प्रस्ताव तयार गरेका छौं जुन छिटैनै आईसीसी र एसीसीसम्म पुर्याउने प्रयास रहनेछ।”
आउँदो प्रतियोगिताका बिषयमा पारसले भने, “हामी अब टि-२० छनौट खेल्दैछौँ त्यसैले पनि अब सबै खेलाडीहरुलाई आफ्नो रोल दिएर, को ५० ओभरको लागि फिट छ र को २० ओभरको लागि भन्ने बुझाउन जरुरी छ।”
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसंगै नेपालले एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा सहभागिता जनाउंदै छ। एसिया “बि” उप-क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सरु हुनेछ। प्रतियोगितामा सबै टोलीले एक-अर्कासंग खेल्नुपर्नेछ।
नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।