नेपाली टिम भोलि स्वदेश फर्कने, टिमसंग सन्दिप नेपाल नआउने

२०७५ माघ २०, आईतवार २१:३८

Nepal Cricket Team
  • विकेटनेपाल, माघ २० , आइतबार 

इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज जितेको नेपाली क्रिकेट टिम ऐतिहासिक उपाधि बोकेर सोमबार नेपाल फर्किने भएको छ।

नेपालले तेश्रो टि-२० मा युएईलाई १४ रनले पराजित गर्दै टि-२० सिरिज २-१ ले जित्न सफल रह्यो। यो संगै नेपालले युएईलाई ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रियको सिरिजमा २-१ ले पराजित गर्यो। दुवै सिरिजको पहिलो खेलमा पराजित भएपछि नेपालले लगातार २ खेल जित्दै सिरिज जित्न सफल भएको थियो।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार नेपाली टिम सोमबार दिउसो फ्लाई दुबई बिमानबाट ३:२० बजे दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

सन्दिप लामिछाने टिमसंग नआउने 

बंगलादेश प्रिमियर लिग बिचैमा छोडेर नेपाली राष्ट्रिय टिमको लागि खेल्न युएई पुगेका सन्दिप लामिछाने टिमसंग नेपाल फर्कने छैनन्। सन्दिप सोमबार युएईबाट सिधै अस्ट्रेलिया उड्ने कार्यक्रम रहेको ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

सन्दिप सोमबार बिग ब्यास लिगको लागि ब्रिसबेन जानेछन्। बिग ब्यासमा सन्दिपको टिम मेलबर्न स्टार्सले फेब्रुअरी ८ तारिक शुक्रबार ब्रिसबेन हिटसंग खेल्दैछ। यस्तै फेब्रुअरी १० तारिकमा मेलबर्नले सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ।

लिगको अंक तालिकामा मेलबर्न स्टार्स चौथो स्थानमा रहेको छ जसले १२ खेलमा समान ६/६ जित/हार बेहोरेको छ र १२ अंक बटुलेको छ। अंकतालिकामा उत्कृस्ट ४ भित्र पर्न मेलबर्नको लागि अन्तिम २ खेलमा जित महत्वपूर्ण रहेको छ।

बंगलादेश प्रिमियर लिगमा भने सन्दिपको टिम सिल्हेट सिक्सर्स प्लेअफ चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ। सिल्हेटले लिग चरणको सम्पूर्ण १२ खेल खेल्दा ५ खेलमा जित र ७ खेलमा हार बेहोर्यो जसपछि १० अंकका साथ अंकतालिकामा छैठौं स्थानमा रह्यो।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

बंगलादेश प्रिमियर लिगमा सन्दिपले ६ खेल खेल्दा ४ विकेट लिएका थिए भने त्यस अघि बिग ब्यास लिगमा ४ खेल खेल्दा ८ विकेट लिएका थिए।

बिग ब्यास लिग पछि सन्दिप फेब्रुअरी १४ देखि सुरु हुने पाकिस्तान सुपर लिग खेल्न पुग्नेछन् जहाँ उनि मोहम्मद हफिज कप्तानीको लाहोर कलन्दर्सबाट खेल्नेछन्। लाहोरमा एबी डी भिल्लिएर्स, ब्रेण्डन टेलर, फखार जमान, कार्लोस ब्राथवेट, मोहम्मद इरफान, यासिर शाह जस्ता खेलाडीहरु रहेका छन्।

पाकिस्तान सुपर लिग पछि सन्दिप मार्च २३ देखि भारतमा सुरु हुने इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटलको लागि खेल्न पुग्नेछन्।

( फिचर फोटो – द नेसनल युएई )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy