नेपाली टिम शुक्रबार स्वदेश फर्कदै, सन्दिप पनि आउने

  • विकेटनेपाल, भदौ २१

एसिया कप छनौट प्रतियोगिताको सहभागिता पछि नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश आगमन गर्नेछ। राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार सम्पूर्ण  नेपाली टिम शुक्रबार दिउसो १२:१५ बजे मालिन्डो एअरमार्फत फर्किनेछ।

एसिया कप छनौट प्रतियोगितामा नेपालले चौथो स्थान हात पारेपछि छनौट हुन असफल रहेको थियो। प्रतियोगिताको उपाधि जित्ने दाबेदारी सहित मलेसिया पुगेको टिमको खराब ब्याटिंगलाई असफलतामा जिम्मेवार मानिएको छ।

प्रतियोगितामा खेलेको ५ खेल मध्ये २ खेलमा मात्र जित हातपार्ने क्रममा नेपालले मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने  ओमान,युएई र हंगकंगसंग पराजित भएको थियो।

छनौट प्रतियोगिताको उपाधिको लागि हंगकंग र युएई आज बिहिबार प्रतिस्पर्धा गरिरहेका छन्। फाइनल जित्ने टीम सेप्टेम्बर १५ देखि युएईमा सुरु हुने एसिया कप खेल्न छनौट हुनेछ। एसिया कपमा भारत,  पाकिस्तान,बंगलादेश, श्रीलंका र अफगानिस्तान र छनौट प्रतियोगिताबाट जाने १ टिम गरि ६ टिम सहभागी हुनेछन्।

सन्दिप नेपाल फर्कने 

क्यारेबियन प्रिमियर लिग टि -२० चल्दै गर्दा एसिया कप छनौट खेल्न मलेसिया पुगेका सन्दिप अब वेस्ट इन्डिज फर्किनेछैनन्।

Sandeep Lamichhane

क्यारेबियन प्रिमियर लिगमा सन्दिपको टिम अंकतालिकामा १० खेलमा ५ जित सहित ११ अंक बटुली हाल दोश्रो स्थानमा रहेको छ र प्ले-अफ पुग्ने सम्भावना जीवित राखेको छ। सन्दिपको सट्टा दक्षिण अफ्रीकाका चाइनाम्यान बलर तब्रेज शम्शी सेन्ट किट्सको लागि खेल्न प्रतिस्थापन गरिएको छ। एक पटक कुनै खेलाडीलाई प्रतिस्थापन गरिसकेपछि पुनः प्रतिस्थापन गर्न नमिल्ने हुँदा सन्दिप नेपाल फर्किन लागेका हुन्।

लिगमा राम्रो प्रदर्शन गरेका सन्दिपले ५ खेलमा कुल ७ विकेट लिएका थिए। यस क्रममा उनले मात्र ६.२३ प्रति ओभर रन दिएका छन् जुन उत्कृस्ट मध्येको एक हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy