फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा संचालन हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको लागि नेपाली टिमले मंगलबार देखि तयारी थाल्ने भएको छ।
नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा डिभिजन-२ मा छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। प्रतियोगिता नेपालको भबिस्यको लागि अत्यन्त महत्वपूर्ण रहेको छ।
विकेटनेपाललाई प्रशिक्षक जगत टमाटाले जानकारी गराए अनुसार बन्दसत्रको लागि घोषणा गरिएका सबै २१ खेलाडीहरु काठमाडौँ आईसकेका छन्। पहिलो दिन टियु मैदानमा टिमले १०:३० देखि ३ बजेसम्म नेट अभ्यास गर्ने टमाटाले बताएका छन्।

बन्दसत्रको लागि गत हफ्ता बिहिबार २१ सदस्यीय टिमको घोषणा गरिएको थियो। प्रारम्भिक टिममा सागर पुन र बिनोद भण्डारीलाई समावेश गरिएको छैन भने एभरेस्ट प्रिमियर लिगमा तथा यु-१९ रास्ट्रिय टिमको लागि राम्रो प्रदर्शन गरेको आधारमा दिपेश श्रेष्ठ, रोहित पौडेल, अनिल शाह, सुनिल धमला, ललित राजबंशी, किशोर महतो, रशिद खान जस्ता युवा खेलाडीलाई टिममा मौका दिईएको छ।
प्रारम्भिक टिम –
अनिल शाह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, सन्दिप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामि, सुनिल धमला र सुशन भारि
दक्षिण अफ्रीका टुर र मोन्टि देसाई आउने अनिश्चित
डिभिजन-२ को तयारीको लागि नेपाली टिमले प्रतियोगिता अघि दक्षिण अफ्रीका भ्रमण गर्ने प्रस्ताब आईसीसीलाई अझै स्वीकृति प्रदान नगरेको प्रशिक्षक टमाटाले विकेटनेपाललाई बताएका छन्। यस्तै ब्याटिंग कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक मोन्टि देसाईलाई ल्याउन गरेको प्रस्ताबबारे पनि आईसीसीले निर्णय नदिएको उनले जानकारी गराए। आईसीसीले भ्रमण र देसाईबारे अन्तरिक तयारी गरिरहेको र छिट्टै यो बारे निर्णय गर्ने बिश्वास टमाटाले ब्यक्त गरेका छन्। देसाईले यस अघि पनि नेपाली यु-१९ टिम र रास्ट्रिय क्रिकेट टिमको ब्याटिंग कन्सल्ट्यान्टको रुपमा काम गरिसकेका छन् र खेलाडीहरु उनको प्रशिक्षण शैलीबाट प्रभावित भएपछि उनलाई बोलाउने निर्णय गरिएको हो।

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।
डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन्।
सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।
( फिचर फोटो – फाइल )