पारस र जोराको बिष्फोटक ब्याटिंगमा नेपालले जोड्यो १०४ रन

  • विकेटनेपाल – २० माघ, आइतवार 

युएई बिरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि १०५ रनको लक्ष्य प्रस्तुत  गरेको छ।

बर्षा बाधक बनेपछि १० ओभरमा झारिएको खेलमा नेपालले पुरै १० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १०४ रन जोड्न सक्यो। नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक २९, सुन्दिप जोराले २८ र बिनोद भण्डारीले २१ रनको योगदान गरे।

नेपालको सुरुवात भने राम्रो  रहन सकेको थिएन। ओपनर ब्याट्सम्यान पवन सर्राफ खाता नखोल्दै पभेलियन फर्किंदा नेपालले पहिलो ओभरमा रन जोड्ननै सकेन। त्यसपश्चात भने पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागी १२ रनको साझेदारी गरे।

मल्ल ११ रनको स्कोरमा पभेलियन फर्किए। यस्तै दिपेन्द्र ऐरीको विकेट समेत लगत्तै गुमाएको नेपालले २१ रन जोड्न ३ विकेट गुमाएको थियो।

पाँचौं नम्बरमा ब्याटिंग गरेका सुन्दिप जोरा र कप्तान पारस खड्काले सो पश्चात बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोर अघि बढाए। पारस व्यक्तिगत २९ रन बनाउंदा १४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै छैठौं ओभरको अन्तिम बलमा पभेलियन फर्किए। यस्तै जोराले भने नवौं ओभरको तेस्रो बलमा विकेट गुमाउन अघि ११ बलमा ३ छक्का सहित २८ रन जोडे।

इनिंगको अन्त्य तर्फ लगातार विकेट गुमाएको नेपालका लागि बिनोद भण्डारीले २१ रन तथा करन केसीले १० रन जोड्दै स्कोर १०० रन पार गराए। बिनोदले १३ बलमा २ चौका र १ छक्का तथा करनले ५ बलमा १ छक्का प्राहार गरे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy