हङकङविरुद्ध सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

२०८० कार्तिक ४, शनिबार १७:२६

त्रिदेशीय टि-२० सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्‍यो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ रनमा रोकिएको हो ।

नेपालको धारिलो बलिङमा हङकङका ब्याट्सम्यानहरुले प्रतिरोध गर्न सकेनन् । अंशुमान रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट बाँडे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २१३ रनको विशाल स्कोर खडा गरेको थियो । एक समय ८.१ ओभरमा चार विकेट गुमाएर ५५ रनमा सङ्घर्ष गरिरहेको अवस्थाबाट कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले आक्रामक साझेदारी गर्दै नेपाललाई ठूलो स्कोरतर्फ डोर्‍याएका थिए । उनीहरुबीच पाचौँ विकेटका लागि १४५ रनको विश्वकिर्तिमानी साझेदारी भएको छ ।

कुशलले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए । उनी अन्तिम ओभरको पाचौं बलमा आउट भए । दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकासहित ५७ रन जोडे ।

नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । १.१ ओभरमा ९ रन बनाउँदा ओपनर कुशल भुर्तेल आउट भए । नेपालले आज सोमपाल कामीलाई तेस्रो नम्बरमा बढुवा गरेको थियो । तर, उनी सफल भएनन् । सोमपालले १२ बलमा ८ रन मात्र जोड्न सके ।

अर्का ओपनर आसिफ शेखले राम्रो सुरुवात गरे पनि लामो समय टिक्न सकेनन् । उनी १३ बलमा २० रन जोडेर आउट भए । कप्तान रोहित पौडेल पनि आज नचलेपछि नेपाल सङ्कटमा परेको थियो । तर, त्यसपछि कुशल-दीपेन्द्र शो सुरु भयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy