लगातार दोश्रो जित सहित नेपाल सेमीफाइनलमा

२०७४ मंसिर २६, मंगलवार ०७:५७

  • विकेटनेपाल, २६ मङ्सिर – मंगलबार 

एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो खेलमा जित हात पार्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

पहिलो खेलमा सोमबार थाईल्याण्डलाई नेपालले १३३ रनको बिशाल अन्तरले पराजित गरेको थियो। समुह ‘ए’ मा रहेको नेपालको २ खेलमा ४ अँक रहेको छ भने २ खेल खेलेको हंगकंग र थाईल्याण्डको २/२ अंक रहेको छ। थाईल्याण्ड र हंगकंग बीच हुने खेलको बिजेता समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गर्नेछ। म्यानमारले भने हंगकंग र थाईल्यान्ड बीच दुवै खेलमा पराजय बेहोर्यो।

म्यानमारसंग नेपालले समुहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको सेमीफाइनल खेल १६ डिसेम्बरमा खेलिनेछ। समुह बिजेता भएको खण्डमा नेपालले समुह ‘बि’ को उपविजेताको सामना गर्नेछ।

स्कोरकार्ड, अंकतालिका 

सजिलो भएन जित 

टेर्ड थाई मैदानमा सम्पन्न खेलमा नेपालको जित सहज भने हुनसकेन। टस जितेर हंगकंगले ब्याटिंग गर्दै दिएको ८३ रनको लक्ष पछ्याउन नेपालल ६ विकेट गुमाउन पुग्यो। एक समय नेपालले ३४ रनको स्कोरमा ४ विकेट गुमाईसकेको थियो र हारको खतरा देखिएको थियो।

मुस्किल अवस्थाबाट छैठौं नम्बरमा ब्याटिंग गरेका तृत राज दासले पाँचौ विकेटको लागि ओपनर राजन मगरसंग २७ रनको साझेदारी गर्दै जितलाई सहजता तिर लागेका थिए। राजन १७ रन बनाएर आउट भएपछि दास र सुनिल भण्डारीले छैठौं विकेट लागि १९ रनको साझेदारी गरेदे नेपाललाई जित नजिक पुर्याएका थिए।

तृतराज दासले महत्वपूर्ण इनिंग खेले

नेपाललाई जित्न मात्र ३ रन बाँकी रहंदा तृत २७ रनको स्कोरमा आउट भए पछि सुनिल भण्डारीले २५ औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए। तृतले ४६ बलमा ३ चौका प्रहार गरेका थिए। पहिलो खेलमा थाईल्याण्डसंग दासले सर्बाधिक ३९ रनको योगदान दिएका थिए।

बिजयी चौका प्रहार गरेका सुनिलले ११ रन बनाए। ओपनर कुशल मल्ल ( २ ) , बिशाल बिक्रम केसी ( ११ ) , कप्तान रित गौतम ( ० ) , नारायण जोशी ( २ ) ले खास योगदान दिन सकेनन्।

हंगकंग ओपनिंग बलर नस्रुल्ल्ला रानाले सर्बाधिक ३ विकेट हात पार्दै नेपालको जित मुस्किल बनाएका थिए। उनले ७ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्रै खर्चिएका थिए ।

नेपालको उत्कृस्ट बलिंग 

टस जितेर ब्याटिंग गरेको हंगकंगले पहिलो इनिंगको समाप्तिमा ३५ ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाई ८२ रन मात्रै बनाउन सकेको थियो।

हंगकंगलाई ८२ रनमै सिमित गर्न नेपाली बलर प्रतिस जिसीले सर्बाधिक ३ विकेट हात पारे जुन क्रममा उनले ७ ओभरमा २ मेडन ओभर सहित १५ रन मात्रै खर्चिएका थिए। यस्तै अत्यन्त किफायती बलिंग गरेका अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कुल ७ ओभर बलिंग गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १/१ विकेट हात पारे।

प्रतिस जिसीले ३ विकेट हात पारे

हंगकंगको लागि सातौ नम्बरमा ब्याटिंग गरेका आर्यन शरद शेट्टीले सर्बाधिक २४ रन बनाए जुन क्रममा २ छक्का र १ चौका प्रहार गरे। यस्तै कल्हन चल्लुले १६ तथा आरुष भागवतले १२ रन योगदान दिए।

स्कोरकार्ड, अंकतालिका 

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy