सेप्टेम्बर २५ तारिख देखि अक्टोबर ९ तारिखसम्म काठमाडौँमा आयोजना हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) खेल्न काठमाडौँ किंग्स-११ टिममा आवद्ध भएका विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले नेपाल भ्रमण गर्न उत्साहित रहेको बताएका छन्।
काठमाडौँ किंग्स-११ ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अफ्रिदीलाई टिममा आवद्ध गरेको अधिकारिक घोषणा गरेको हो। अफ्रिदी नेपाली लिग खेल्न आउने अहिलेसम्मकै ठूला नाम भएका क्रिकेटर हुन्।
पत्रकार सम्मेलनमा लाइभ भिडियो मार्फत बोल्दै अफ्रिदीले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको बताउदै उत्साह व्यक्त गरे – “यो मेरो काठमाडौँमा पहिलो भ्रमण हुनेछ। म नेपाल भ्रमण गर्न र प्यारो मानिसहरुको अगाडी खेल्न उत्साहित छु।” पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदीले बताए।
अफ्रिदीले नेपाल बारे आफुलाई जानकारी नभएता पनि तर नेपालीहरुले क्रिकेट मन पराउने कुरा भने सुनेको बताए – “इमान्दार भएर भन्दा नेपाल बारे मलाई धेरै थाहा छैन, तर मलाई थाहा छ त्यहाँका मानिसहरुले क्रिकेट मन पराउने गर्छन्। नेपालीहरुको आतिथ्य राम्रो रहेको सुनेको छु, म अहिले सम्म आएको छैन त्यसैले पनि म सुन्दर देशमा आउन चाहन्छु।”
ईपीएलमा कति छक्का हान्ने सोच्नु भएको छ भने पत्रकारको जिज्ञासामा उनले बताए – “त्यो कुरा कस्तो बल मलाई फालिनेछमा निर्भर गर्नेछ तर, म मेरो उत्कृस्ट प्रयास गर्नेछु नेपाली दर्शकलाई खुसि बनाउन।”
एभरेस्ट प्रिमियर लिगबारे बोल्दै ४१ वर्षीय खेलाडीले युवा क्रिकेटरको लागि सुन्दर अवसर रहेको बताए – “राम्रो थालनी हो, जसले पनि सुरुवात गरेको हो त्यो तारिफको हकदार छ। ईपीएल सबै युवा खेलाडीको लागि सुन्दर अवसर हो जसले गर्दा उनीहरुले अनुभवी खेलाडीहरुसंग ड्रेसिंग रुम शेयर गर्न पाउनेछन्। त्यसले गर्दा उनीहरुले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउनेछन्।”
BOOM BOOM 💥 💥
DO WE NEED TO SAY MORE. @SAfridiOfficial #eplt20#boomboomafridi #Afridi @KathmanduKings #daretodream pic.twitter.com/IbYMjar7lD— EPL – Everest Premier League (@eplt20official) July 26, 2021
ईपीएल अन्य विदेशी लिगको स्तरमा पुग्न प्रतियोगिताको खेलहरु कति प्रतिस्पर्धात्मक हुनेछमा निर्भर गर्ने अफ्रिदीले बताए-
“सुरुवात राम्रो हो र सबै कुरा नेपाल क्रिकेट बोर्डमा निर्भर गर्छ। कति प्रतिस्पर्धात्मक क्रिकेट हुनेछ त्यसमा पनि निर्भर गर्छ। मलाई लाग्छ व्यवस्थापनको भूमिका प्रमुख हुन्छ। अरु ३-४ जना स्टारलाई ल्याउनु पर्छ , प्रत्येक वर्ष उनीहरुसंग खेल्नु खेलाडीहरुको लागि सिक्ने राम्रो अवसर हो।”
अफ्रिदीलाई कति रकममा अनुबन्ध गरिएको हो काठमाडौँ किंग्स-११ ले खुलाएको छैन। उनलाई नेपालमा खेलहरु खेल्न बाहेक देशको चर्चित पर्यटकीय स्थल भ्रमण गराउने समेत योजना रहेको टिम व्यवस्थापनले बताएको छ।
४१ वर्षीय अफ्रिदीले सन् १९९६ मा केन्या बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। २०१८ मे मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले ३९८ एकदिवसीय अन्तर्राष्ट्रिय, ९९ टि-२० अन्तर्राष्ट्रिय र २७ टेस्टमा देशको प्रतिनिधित्व गरेका थिए। यस क्रममा उनले एकदिवसीयमा ८,०६४ रन बनाउनुको साथै ३९५ विकेट लिए, टि-२० मा १,४१६ रन र ९८ विकेट तथा टेस्टमा १,७१६ रन र ४८ विकेट आफ्नो नाम गरे। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पछि पनि अफ्रिदी विश्वभर टि-२० लिगहरुमा सक्रिय रहेका छन्।
Looking forward to visiting Nepal and playing @eplt20official and for sure will visit some more places I hear have beauty like no other https://t.co/tcubpAVDf0
— Shahid Afridi (@SAfridiOfficial) July 26, 2021
काठमाडौँ किंग्स-११ मा मार्की खेलाडीको रुपमा चर्चित नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि रहेका छन्। त्यस्तै टिममा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्र ऐरी, सुबास खकुरेल, जितेन्द्र मुखिया, राजु रिजाल, अमृत भट्टराई, अमित श्रेष्ठ, संसाद शेख, अमर सिंह रौटेला, आकाश चन्द, शेर मल्ल, दिपेन्द्र रावत रहेका छन्।
ईपीएलको अघिल्लो संस्करणमा किंग्स-११ लिग चरणमा अंकतालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गरको थियो। पहिलो र दोश्रो क्वालीफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदा काठमाडौँको यात्रा समाप्त भएको थियो।
ईपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन्। लिगको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो।
लिग सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ। समुह चरणमा सबै ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ।
