क्यानडासँग नेपालको लगातार तेस्रो हार

२०८१ आश्विन १३, आईतवार ०१:१३

नेपालले क्यानडासँग लगातार तेस्रो हार बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपालमाथि १४ रनको जित हासिल गर्यो । यसअघि नेपालले क्यानडासँग २ ओडिआई खेल हारेको थियो ।

क्यानडाको किंग सिटीमा घरेलु टोलीले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेल कलिम सानाको बलमा बोल्ड हुनुअघि ३७ रन बनाए । कुशल मल्लले २२, सन्दीप लामिछानेले १० तथा देव खनालले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्यानडाका लागि कलिम सानाले ४, साद विन जाफरले ३ तथा प्रविण कुमार र अखिल कुमारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।

प्रविन कुमारले १३ बलमा १९ रन बनाउँदै सोमपाल कामीद्वारा बोल्ड आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपालले एकै ओभरमा २ महत्वपूर्ण विकेट लिएका थिए । सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका थिए ।

आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाललाई १३ तथा अन्तिम बलमा दिलप्रित बाज्वालाई १४ आउट गराएका थिए ।

त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका थिए । क्यानडाविरुद्धको यसै खेलमा रिजनले टि ट्वान्टी डेब्यु गरेका थिए ।

रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । जोनसनलाई रिजनले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका थिए ।

नेपालका लागि सन्दीप र सोमपालले समान ३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतवार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy