रोहित र करनको कीर्तिमानी साझेदारीमा नेपालको रोमान्चक जित

कप्तान रोहित पौडेल र करन केसीले नवौं विकेटको लागि कीर्तिमानी साझेदारी गर्दा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ।

स्कटल्याण्ड र नामिबियासंग घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा जितको साथ नेपालले सिरिजको सबै ४ खेलमा जित दर्ता गरेको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो पटक चारवटै खेल जितेको हो।

टियु मैदान कीर्तिपुरमा स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३८ रन बनाउदा ८ विकेट गुमायो। हार निश्चित देखिएको अवस्थामा चौंथो नम्बरमा ब्याटिंग गरेका कप्तान रोहित पौडेलले एक किनार छोडेनन् र नवौं विकेटको लागि करन केसीसंग अविजित ७५ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाए। नेपालले ८ विकेट गुमाएर ४४.१ ओभरमा लक्ष्य हाँसिल गर्यो।

रोहित र करन बीच नवौं विकेटको लागि भएको अविजित ७५ रनको साझेदारी नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा यो कुनै पनि विकेटको लागि नेपालको १७ औं ठूलो साझेदारी हो।

शतक बनाउन ५ रन टाढा रहेका रोहितले १०१ बलमा ७ चौका र ४ छक्का मद्दतले अविजित ९५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा रहितको यो दोश्रो सर्वाधिक व्यक्तिगत स्कोर हो भने स्कटल्याण्ड विरुद्ध उनको सर्वाधिक स्कोर हो। करन केसीले अविजित ३१ रन बनाए जुन क्रममा ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे। ज्ञानेन्द्र मल्लले २१ तथा कुशल मल्लले १७ रन बनाए।

स्कटल्याण्ड बलर मार्क वाटले २९ रन खर्चेर ३ विकेट लिए पनि जित्न पर्याप्त रहेन। क्रिस ग्रिभ्सले २ तथा ब्रान्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले १/१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । उसको लागि ओपनर जर्ज मुनसेले ६० तथा म्याथु क्रसले ४२ रन योगदान दिए।

नेपालको बलिंगमा लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए। स्कटल्याण्डको दुवै ओपनर सहित मध्यक्रम तहसनहस पारेका सन्दिपले १० ओभरमा ४५ रन खर्चिए। करन केसीले ४२ रन खर्चेर ३ विकेट लिंदा ललित राजबंशी र कुशल मल्लले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले यस अघि स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो। यस्तै नामिबियालाई पहिलो खेलमा २ विकेट र दोश्रो खेलमा ३ विकेटले परजित गरेको थियो। सबै खेलमा नेपालले टस जितेर पहिले फिल्डिग रोज्दै लक्ष्य पछ्याउने क्रममा जितेको हो।

जितपछि नेपाल लिग-२ अंकतालिकामा २६ अंक सहित छैठौं स्थानमा यथावत छ। २८ खेल खेल्दा नेपालले १२ जित र १४ हार बेहोर्द १ खेल बराबरीमा टुंगिएको छ भने १ खेल नतिजाविहिन रहेको थियो। हार पछि पनि स्कटल्याण्ड ३६ खेलमा ५० अंक सहित शिर्ष स्थानमा कायम रहँदै लिग-२ को यात्रा समाप्त गरेको छ। यस अघिनै लिग-२ को विजेता निश्चित भएको स्कटल्याण्डलाई आईसीसीले आजै विजेता ट्रफी समेत प्रदान गरेको छ।

लिग-२ अन्तर्गत नेपालले आगामी सिरिज युएई र पपुवा न्यु गिनीसंग युएईमा खेल्नेछ। सिरिज फेब्रुअरी २७ तारिखबाट सुरु हुनेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy