नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ।
क्यानले असारमा राष्ट्रिय टिमको जर्सी डिजाइन गर्न प्रतिस्पर्धानै आयोजना गरेको थियो। प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी क्यानले छनोट गरेको छ। उत्कृस्ट जर्सी डिजाइन गरेबापत पोखरेलले १ लाख रुपैयाँ प्राप्त गरे।
क्यानले सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेललाई नेपाली टिमको मुख्य प्रायोजक माईसेकेन्ड टिचरका को-फाउन्डर सुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उनलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। पोखरेलले डिजाइन गरेको जर्सी नेपाली क्रिकेट टिमले आगामी ओमान भ्रमणमा लगाउनेछ।

क्यानले जर्सी छनोट गर्नको लागि क्यान सदस्य छुम्बी लामा, प्रबन्ध निर्देशक रौनक मल्ल र क्रिकेट म्यानेजर बिनोद दास सम्मिलित कमिटिनै गठन गरेको थियो जसले ५ सय भन्दा बढी जर्सीबाट पोखरेलको जर्सी छनोट गरेका हुन्।
कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले राष्ट्रिय टिमको जर्सी छनोट गर्दा राष्ट्रिय झन्डाको रंग, नेपालको संस्कृति, भौगोलिक विविधता, अन्तर्राष्ट्रिय मान्यता लगायत कुरालाई ध्यानमा राखिएको बताए।
विजयी जर्सीको कुमको भागमा नेपालको झन्डा राखिएको छ भने नेपालको झन्डाको रंग प्रयोग गरिएको छ। जर्सीको अघिल्लो भागमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, नेपालमा मात्र पाइने दुर्लभ एक सिंगे गैंडा तथा नेपालको राष्ट्रिय प्रतिकलाई समाबेश गरिएको छ। जर्सीले नेपालको संस्कृति र भौगोलिक विविधता तथा राष्ट्रिय एकताको प्रतिक समेत झल्काएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमान भ्रमण अन्तर्गत सेप्टेम्बर ५ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक नयाँ जर्सी लगाउनेछ। पपुवा न्यु गिनीसंग नेपालले ५ र ८ तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा त्यसपछि विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ देखि २० तारिखसम्म त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ। ओमान भ्रमणको नेपाली नेपाली टोलि मंगलबार ओमान प्रस्थान गर्ने तालिका रहेको छ।

