लगातार तेश्रो जित पछि नेपाल पुनः शिर्षमा

मलेसियालाई पराजित गर्दै नेपालले युएईमा जारि आईसीसी टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा लगातार तेश्रो जित दर्ता गरेको छ। प्रतियोगिताको पहिलो खेलमा हंगकंगसंग ६ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई ८ विकेटले र तेश्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो।

आईसीसी क्रिकेट एकेडेमी मैदानमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

नेपालको लागि सिता राना मगरले सर्वाधिक ३० रन बनाईन् जुन क्रममा ३८ बलमा ३ चौका प्रहार गरिन्। यस्तै कप्तान रुबिना क्षेत्रीले २९ बलमा २० रन तथा सरिता मगरले १७ बलमा अविजित १५ रन योगदान दिईन्। सिता र रुबिनाले दोश्रो विकेटको लागि ४८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो। मलेसियाको लागि इल्सा हन्टरले सर्वाधिक अविजित ३९ रन योगदान दिईन् जुन क्रममा ४७ बलमा ४ चौका प्रहार गरिन्। मास इल्स्याले १४, युश्रीना याकुपले १२ रन बनाईन्। ३२ रनमा ३ विकेट गुमाएको अवस्थामा चौंथो विकेटको लागि हन्टर र इल्स्या बीच ३० रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

नेपालको बलिंगमा सबनम राईले २ विकेट ( ४-१-२७-२ ) तथा कविता कुँवर ( ४-१-९-१ ) , सिता राना मगर ( ४-०-१६-१ ) र रुबिना क्षेत्री ( ४-०-९-१ ) ले समान एक विकेट लिए।

जितपछि नेपाल ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित शिर्ष स्थानमा उक्लेको छ। समान अंक रहेको युएई नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा छ। नेपालले प्रतियोगितामा आफ्नो अन्तिम खेलमा नोभेम्बर २८ तारिखमा आयोजक युएईसंग खेल्ने तालिका रहेको छ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलीरहेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy