हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ ले नेपाललाई हराएको छ ।
हङकङको मङकङमा सम्पन्न पाकिस्तान ए ले नेपाललाई ९ रनले हराएको हो ।
पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाइन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् ।नेपालका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तान ‘ए’ का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले १९. २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।
पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाइन् ।
नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएकी थिइन् ।
१९ औं ओभरमा इन्दु बर्माले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा पुर्णत हाबी भएको थियो । कविता कुँवरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो ।
इन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २/२ विकेट लिएका थिए ।
हारको बाबजुद अलराउण्ड प्रदर्शन गरेकी कविता कुँवर प्लेयर अफ द म्याच घोषित भईन्।
जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।
नेपालले प्रतियोगिताको दोश्रो खेल बिहिबार भारत ‘ए’ संग खेल्नेछ। खेल नेपाली समय ११:१५ बजे विहान सुरु हुनेछ।