सुपरओभरमा नेपाल ओमानसँग पराजित हुँदा ओमान बन्यो च्याम्पियन

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसिसी टी-२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।

टस जितेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । ओमानले जवाफमा नौ विकेटको क्षतिमा १८४ रननै बनायो । त्यसपछि च्याम्पियनको छिनोफानो गर्न सुपर ओभर गरिएको हो ।

डेथ बलिङ विशेषज्ञ अविनाश बोहराले फालेको सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । नेपालले जवाफमा कुशल भुर्तेललाई गुमाएर १० रन मात्र बनाउनसक्यो । ओमानका बलर विलाल खान सुपर ओभरमा नायक बने ।

नेपाल आज फाइनलमा ओमानलाई हराएर बदला लिने दाउमा थियो । यसै प्रतियोगिताको समूह चरणमा नेपाल पाँच रनले ओमानसँग स्तब्ध भएको थियो । यद्यपि फाइनलमा हारेपनि नेपालका लागि पनि यो प्रतियोगिता उपलब्धिपूर्ण रह्यो । यस प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टी-२० विश्वकपमा चयन भएका थिए । विश्वकप टी-२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले सन् २०१४ पछि टी-२० विश्वकप खेल्दैछ ।

नेपालका कप्तान रोहित पौडेलले विशाल स्कोर बनाएर ओमानमाथि फाइनलमा लक्ष्य पछ्याउने थप दबाब दिन पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिएय् । स्वयम् रोहित र १८ वर्षीय युवा अलराउन्डर गुलसन झाको विस्फोटक अर्धशतकीय पालिको सहयोगमा नेपालले ओमानलाई कठिन लक्ष्य पनि दियो ।

यद्यपि सुरुको १० ओभरमा नेपालले कमजोर ब्याटिङ गरेको थियो । नेपालले १० ओभरमा ६० रन बन्दा चार विकेट गुमाइसकेको थियो । तर पाँचौँ विकेटको साझेदारीमा रोहितले गुलसनसँग मिलेर ७८ रन जोडेर नेपालको पालि उकासे । विशेषत गुलशनले क्रिजमा आउनासाथ लगातार चौका र छक्काको वर्षात् गरेर ओमानको बलिङलाई धराशायी पारे ।

गुलसनले मात्र २५ बलमा सर्वाधिक ५४ रन बनाए । उहाँको पालिमा पाँच चौका र चार छक्का सामेल थियो । गुलसनले लगातार आफूलाई ‘बिग म्याच प्लेयर’ साबित गर्दै आएका छन् । करिब तीन महिनाअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको आइसिसी विश्व क्रिकेट लिग २को अन्तिम खेलमा गुलसनकै महत्त्वपूर्ण अर्धशतकीय पालिले नेपाल जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको थियो ।

गुलसन आउट भएपछि तेज गतिमा रन बनाउने जिम्मेवारी रोहितले लिए । रोहित ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रनमा अविजित रहे । नेपालको पालि सकिँदा करण केसी पनि छ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाएर कप्तान रोहितसँग क्रिजमा थिए । टि-२० अन्तर्राष्ट्रियमा रोहितको यो पाँचौँ तथा गुलसनको पहिलो अर्धसत्तक हो ।

यसअघि, प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख छ रनमा विलाल खानको बलिङमा कश्यप प्रजापतिद्वारा क्याच आउट भए । आसिफको अर्धशतकीय पालिले नेपाल दुई दिनअघि युएइलाई हराएर फाइनलमा स्थान बनाएर टि२० विश्वकपमा खेल्न योग्य बनेको थियो । तर आसिफको ब्याट्बाट फाइनलमा रन बनेन । १८ रनमा जीवनदान पाएका अर्का प्रारमिभक ब्याट्समयान कुशल भुर्तेलले त्यसको फाइदा भने उठाउन सकेनन् ।

यद्यपि उहाँले २२ बलमा तीन चौका र दुई छक्कासहित ३१ रनको उपयोगी पालि खेले। प्रशिक्षक मोन्टी देसाइको सन्दीप जोरालाई ‘वन डाउन’ ब्याट्सम्यानको रुपमा गरेको प्रयोग सफल भएन । ओमानका कप्तान जिसन मक्सुदले आफ्नो स्पेलको पहिलो बलमा नै जोरालाई १० रनमा बोल्ड गरे। अर्को ओभरमा अकिब इलियसाले आप्mनो पहिलो बलमा भुर्तेलको विकेट लिएका हुन् । कुशल मल्ल र विवेक यादव पनि चाँडै आउट भए । मल्ल तीन रनमा तथा विवेक एक रनमा आउट भए ।

समूह चरणको अन्तिम खेलमा विवेकले ओमानका प्रमुख बलर विलालले फालेको अन्तिम ओभरमा तीन छक्का प्रहार गरेर सनसनी मच्चाएका थिए । विलालले आज आफ्नै बलिङमा आफैले क्याच गरी विवेकलाई आउट गरी बदला लिए । बिलालले चार ओभरमा मात्र २६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

ओमानले लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान प्रतीक अथावाले सात रनमा सोमपालको बलिङमा एलबीडब्ल्यूको धरापमा पारे । तर अर्का प्रारम्भिक ब्याट्सम्यान कश्यप प्रजापतिले ५२ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६३ रन बनाएर ओमानलाई खेलमा कायम गरे ।

ओमानका लागि अकिब इलियास (१९ बलमा ३३ रन), कप्नतान जिसन मक्सुन (१८ बलमा २६ रन) र मोहम्मद नदिम (९ बलमा अविजित २४ रन) ले पनि उल्लेखनीय पालि खेले । निकै उतारचढावपूर्ण ओमानको पालिमा पाहुना टिमओमानलाई च्याम्पियन बन्न अन्तिम ओभरमा सन्दीप लामिछानेको बलिङमा आठ रन बनाउनुपर्ने समीकरण बनेको थियो । तर सन्दीपले अन्तिम ओभरमा मात्र सात रन दिएर एक रनआउटसहित तीन विकेट लिनुभयो र खेल ‘टाइ’ भयो । त्यसपछि सुपर ओभर खेलिएको हो ।

ओमानको पालिमा सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल, गुलस्न, अविनाश र विवेकले एक–एक विकेट लिए ।

( साभार – गोरखापत्र )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]