- विकेटनेपाल, साउन ३० – बुधबार
मलेसियामा अगस्ट २९ देखि आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमले अभ्यास थालेको छ। टियु क्रिकेट मैदानमा तथा इन्डोर हलमा टिमले बुधबार ब्याटिंग र बलिङ्ग अभ्यास गर्यो।
बन्दसत्र अभ्यासको लागि गत साता १९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो जसमध्ये सन्दिप लामिछाने बाहेक सबै अभ्यासको लागि उपलब्ध छन्। सन्दिप क्यारेबियन प्रिमियर लिग खेलीरहेका छन् र एसिया कप छनौट खेल्न उतैबाट मलेसिया उड्नेछन्। मलेसियन प्रिमियर लिग बाट फर्किएका सागर पुनले अभ्यास थाल्नेछन्।

नेपाली टिमलाई सघाउन एसियन क्रिकेट काउन्सिलले ब्याटिंग कन्सल्टेन्टको रुपमा भारतीय प्रशिक्षक अपुर्भ देसाईलाई नियुक्त गरेको छ जसले मंगलबार देखिनै जिम्मेवारी सम्हालीसकेका छन्। देसाई भारतीय क्रिकेट बोर्डका लेभल-३ प्रशिक्षक हुन्।

बुधबारको प्रशिक्षण पछि पत्रकारसंग कुराकानी गर्दै देसाईले नेपाली खेलाडीहरु प्रतिभावान रहेको र आफुले प्रशिक्षण अवधिभर प्राबिधिक र मानसिक पाटोमा काम गर्ने विकेटनेपाललाई बताएका छन्। भारतको नेसनल क्रिकेट एकेडेमी तथा कोलकाता नाइट राइडर्सको क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिसकेका देसाई एसिया कप क्वालिफायर अवधिभर नेपाली टिमसंग रहनेछन्।
टियु मैदानमा यो हफ्ताको प्रशिक्षण लगत्तै नेपाली टिम २० तारिकमा श्रीलंका प्रस्थान गर्ने प्रशिक्षक टमाटाले जानकारी दिएका छन्। टिमले त्यहाँ ३ वटा अभ्यास खेल खेलेर मलेसिया प्रस्थान गर्नेछ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।
प्रारम्भिक नेपाली टिम : पारस खड्का, अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोम्पाल कामी, सुबाश खकुरेल, सुनिल धमला र सुशन भारी






( फोटोहरु – राजन अधिकारी / विकेटनेपाल )