लगातार चौंथो जित दर्ता गर्दै नेपाल टि-२० विश्वकप एसिया छनोटको सेमीफाइनलमा

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टिम मलेसियामा जारि आईसीसी महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

हेर्नुस स्कोरकार्ड 

लगातार चौंथो जित दर्ता गरेको नेपाली टिमले यस अघि मलेसिया, बहराईन र भुटानलाई पराजित गरेको थियो। समुह चरणको अन्तिम खेलमा नेपालले बुधबार युएईसंग खेल्नेछ।

युकेएम वाईएसडी मैदानमा सम्पन्न खेलमा कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १०.३ ओभरमा भेटायो।

ओपनर काजल श्रेष्ठ र सिता राना मगरले ४७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। काजल २८ बलमा ४ चौका मद्दतले ३२ रन बनाएर आउट भएपछि सिता र इन्दु बर्माले नेपाललाई जितसम्म पुर्याए। सिताले अविजित १७ तथा इन्दुले अविजित २० रन बनाईन्।

टस हारेर ब्याटिंग गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो। उसको लागि साची ढाडवालले सर्वाधिक २१, अलिना खानले १५ तथा एन्जेलिने मारेले अविजित १४ रन योगदान दिईन्।

नेपालको बलिंगमा इन्दु बर्माले सर्वाधिक ३ विकेट हात परिन्। प्लेयर अफ द म्याच घोषित बर्माले ४ ओभरमा मात्र १० रन खर्चिन्। पुजा महतो र कविता जोशीले १/१ विकेट लिए।

समुह ‘ए’ बाट नेपाल र युएई सेमीफाइनल प्रवेश गरिसकेका छन् भने समुह ‘बि’ बाट सेमीफाइनल पुग्ने दुई टिमको टुंगो आज लाग्न सक्नेछ। हंगकंग र थाइल्याण्ड समुह ‘बि’ बाट सेमीफाइनल पुग्ने सम्भावना प्रवल छ। सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘वि’ को उपविजेताको तथा समुह ‘वि’ को विजेताले समुह ‘ए’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ। फाइनल पुग्ने दुई टिमले टि-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy