चाडविक वालटन र सन्दीप जोरको शतकीय साझेदारीमा फारवेस्टर्न युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो ।
जनकपुरलाई जित दिलाउन जोरा र वालटन्ले शतकीय साझेदारी गरे । ओपनर पवन सर्राफ १२ रन र कप्तान ट्रेभोन ग्रिफ्त ६ रनमा आउट भएपछि क्रिजमा आएका जोराले जनकपुरका लागि सर्वाधिक ७७ रनको इनिङ खेले । उनले ५४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उनले वालटनसँग १५१ रनको साझेदारी गरे ।
वालटनले ४० बलमा २ चौका र ५ छक्कासहित अविजित ६९ रन जोडे । फारवेस्टका करण केसीले २ विकेट लिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार गरेको थियो ।
फारवेस्टका करण केसीले आक्रामक इनिङ खेले । उनी १६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रनमा अविजित रहे ।
भिम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर देव खनाल २२ रन र हसिम अन्सरि ११ रनमा आउट हुँदा कप्तान हर्समतुल्लाह शाहिदी १० रन र विनोद भण्डारीले १२ रन बनाएर पभेलियन फर्किएका थिए । हरिशंकर शाहले १३ रन योगदान गरे ।
जनकपुरको बलिङमा ललित राजवंशीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।
पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले पराजित भएको फारवेस्टले दोस्रो खेलमा काठमाडौँ नाइट्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो ।
रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित
नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ लमा २ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए । त्यस्तै गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए । पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
पोखराका लागि अमिर हम्जाले ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।
कप्तान उपुल तरङ्गा २५ रन जोडे । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ विकेट लिए । त्यस्तै साहब आलम, राज नानन र नन्दन यादवले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगरले ४ खेलमा चार अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर अङ्क विहीन पोखरा तालिकाको पुछारमा रहेको छ ।