Nepal T20 : लुम्बिनी बन्यो च्याम्पियन

२०७९ पुष २७, बुधबार १८:४२

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको एक सय ३४ रनको विजय लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय नौं रनमा समेटिएको थियो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाए ।

पृथु बाँस्कोटाले ३१ र हुसेन तलतले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा लुम्बिनीका हरमित सिंह र सागर ढकालले दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो।

लुम्बिनीका लागि मिलन्थाले ४१ रन बनाए । हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाए।

बलिङमा विराटनगरका राज नानन र नन्दन यादवले दुई दुई विकेट लिए । हुसेन तलत, कियोन जोशेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक एक विकेट लिए।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रुपियाँ प्राप्त गरेको छ । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।

हुसेन सर्वोत्कृष्ट खेलाडी

विराटनगरका हुसेन तलत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उहाँले पाँच लाख रुपियाँ पुरस्कार पाए । यसैगरी काठमाडौं नाइट्सका अभिनाश बोहरा उत्कृष्ट बलर, फार वेस्ट युनाइटेडका हश्मातुल्लाह शाहिदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए।

विराटनगरका सूर्य तामाङ प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार र उदीयमान खेलाडीलाई एक लाख ८० हजार रुपियाँ प्रदान गरियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy