सेप्टेम्बर ५ देखि १४ सम्म ( भदौ १९ देखि २८ ) श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसिया कप प्रतियोगिताको लागि नेपाली युवा टिमले बिहिबार देखि प्रशिक्षण थालेको छ।
टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेत गरि ८ टिम प्रतियोगितामा सहभागी हुँदैछन्। प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छैन। २०१७ मा मलेसियामा आयोजित यु-१९ एसिया कपको अघिल्लो संस्करणमा नेपालले भारतीय यु-१९ क्रिकेट टिमलाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो। सेमीफाइनलमा अफगानिस्तानसंग नेपाल पराजित भएको थियो।
नेपाली टिमको लक्ष्य यो पटक पनि टेस्ट राष्ट्रलाई आश्चर्यचकित पार्ने रहेको छ तर त्यो अनुरुप तयारी भने हुन सकेको छैन। अन्य टिमहरुले लामो समय देखि तयारी थाल्दा नेपालले भने वर्षायाममा घरेलु मैदानमा अभ्यास गर्नुपरेको हो।
एसीसी र आईसीसीले तयारीको लागि वास्ता नगर्दा नेपालले आफ्नै पहलमा अभ्यास सुरु गरेको हो। हफ्ता अघि सम्म घाँसले भरिएको टियु मैदान अन्डर-१९ टिमको अभ्यासको लागि अहिले तयार गरिएको छ।
पछिल्लो प्रदर्शनको आधारमा प्रशिक्षक बिनोद दासको नेतृत्वमा १९ युवा क्रिकेटरहरु अभ्यास गरिरहेका छन्। युवा टिमको कप्तानी रोहित पौडेलले गरिरहेका छन्।
अन्तिम पटक नेपाली अन्डर-१९ टिमले यसै वर्ष अप्रिलमा मलेसियामा आयोजित अन्डर-१९ विश्वकप छनौट खेलेको थियो। उक्त प्रतियोगितामा युएईसंग वर्षाले प्रभावित भएको खेलको कारण नेपाल डीएल मेथडमा १ रनले पराजित हुन पुगेको थियो। सोहि खेलको हारको कारण नेपाल आगामी वर्ष हुने यु-१९ विश्वकप छनौट हुन असफल रह्यो।
यु-१९ विश्वकप छनौटको प्रदर्शनलाई भुलाउदै नेपाल सामु पुनः आफुलाई युवा स्तरमा अब्बल प्रमाणित गर्ने चुनौती रहेको छ। नेपालले बिगतमा भारत, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश जस्ता टिमहरुलाई अन्डर-१९ स्तरमा पराजित गरिसकेको छ।
श्रीलंकामा थप अभ्यास
वर्षाको कारण घरेलु मैदानमा अभ्यास गर्न कठिनाइका बाबजुद नेपाली युवा टिम सकारात्मक भएर अभयस गरिरहेको छ। टिमले अभ्यासको लागि विदेश भ्रमणको माग गरेता पनि एसियन क्रिकेट काउन्सिलको अनुमति नआउदा नेपालमै तयारी गर्नुपर्नेछ। एसीसीले प्रतियोगिता सुरु हुनु १ हफ्ता अघि श्रीलंकामा अभ्यासको व्यवस्था मिलाएको छ जसमा नेपाली युवा टिमले चित्त बुझाउनु पर्नेछ।
नेपाली राष्ट्रिय टिममा हाल खेलीरहेका अधिकांश क्रिकेटरहरु अन्डर-१९ स्तरबाट पुगेका हुन्। हाल यु-१९ टिमको कप्तानी सम्हालीरहेका रोहित पौडेल लगायत पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की जस्ता क्रिकेटरहरुले राष्ट्रिय टिमसम्मको अनुभव बटुलीसकेका छन्।
राष्ट्रिय टिमको आधार तयार गर्ने हुँदा पनि अन्डर-१९ टिमको प्रदर्शनले ठुलो महत्व राख्नेगर्छ तर क्रिकेट संघ नहुँदा युवा क्रिकेटरहरुले आफुलाई ठुलो स्तरको लागि तयार गर्न भने पाएका छैनन्।