एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा, बिनोद र अविनाशको पुनरागमन

२०८० श्रावण १२, शुक्रबार १६:२८

दुई महिना पछि चिनको हांगजाउमा आयोजना हुने १९ औँ एसियन गेम्सका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

सेप्टेम्बर १९ तारिख अक्टोबर ८ तारिखसम्म आयोजना हुने टी–२० फर्म्याटको प्रतियोगितामा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र तीव्र गति बलर अविनाश बोहोराले पुनरागमन गरेका छन्।

बिनोद भण्डारीले अन्तिम पटक २०२१ अप्रिलमा नेदरल्याण्डसंग टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए भने जुलाई २०२२ मा स्कटल्याण्डसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि राष्ट्रिय टिमबाट मैदानमा उत्रिएका छैनन्। अविनाश बोहराले अन्तिम पटक जिम्बाब्वे ‘ए’ विरुद्ध मे २०२२ मा नेपालको लागि टि-२० खेलेका थिए भने पपुवा न्यु गिनीसंग अप्रिल २०२२ मा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए। फेब्रुवरी २०२० देखि बोहराले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि मैदान उत्रिएका छैनन्।

अन्तिम पटक २०१९ अक्टोबरमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका सन्दिप जोराले पनि नेपालको टि-२० टिममा पुनरागमन गरेका छन्। जोरा हाल नेपाली टिमसंग श्रीलंका भ्रमणमा छन्।

ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भिम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ भने एसियाली खेलकुदको टिममा छैनन् ।

घोषित टिम : रोहित कुमार पौडेल ( कप्तान ) , कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख, कुशल मल्ल, गुल्सन कुमार झा, करण केसी, अविनाश बोहरा, सन्दिप लामिछाने, ललित राजवंशी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामि, सन्दिप जोरा, विनोद भण्डारी

प्रतियोगितामा नेपाल र आयोजक चिन सहित १८ टिमको सहभागिता रहनेछ। आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा जुन २०२३ सम्म शिर्ष १८ मा रहेका एसियाली टिमहरुले प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको खेल तालिका भने अधिकारिक रुपमा सार्वजनिक भएको छैन। तर विकेटनेपाललाई प्राप्त अनाधिकारिक खेलतालिका अनुसार नेपालले पहिलो खेल इन्डोनेसियासंग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ। उक्त खेल जितेको खण्डमा नेपालले प्रि-क्वार्टरफाइनलमा बहराइन र मलेसिया बीचको खेलको विजेतासंग खेल्नेछ। उक्त खेल जितेमा नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको सामना गर्नेछ। वरियताको आधारमा पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतलाई स्वतः क्वार्टरफाइनलमा स्थान दिईएको छ।

सहभागी टिमहरु : भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई, नेपाल, हंगकंग, ओमान, मलेसिया, कतार, कुवेत, बहराईन, साउदी अरब, सिंगापुर, इन्डोनेसिया, भुटान र चिन ( आयोजक )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy