आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय प्रारम्भिक नेपाल टिमको घोषणा गरिएको छ। सिरिज जुलाई २०/२२ तारिखमा सुरु हुने भनिएता पनि आधिकारिक रुपमा आईसीसीले मिति घोषणा भने गरेको छैन।
घोषित नेपाली टिममा घरेलु एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पृथु बास्कोटा, पवन सर्राफ, बिक्रम सोब, सन्दिप जोरा, शाहब आलमले स्थान बनाएका छन्। यस्तै नेदरल्याण्ड र मलेसिया बिरुद्ध दुई महिना अघि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टोलिमा रहेका छन्।
भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई भने टिम बाहिर राखिएको छ। हाल अमेरिकामा रहेका रेग्मीले अन्तिम पटक रास्ट्रिय टिमको २०१९ जुलाईमा खेलेका थिए। रेग्मीसंगै पृथु बास्कोटा पनि अमेरिकामा रहेका छन्। रेग्मी र बास्कोटा दुवै अमेरिकामा नेपाली राइनोज अलस्टार क्लबको निमन्त्रणामा प्रतियोगिता खेल्न अमेरिका पुगेका थिए जसपछि नेपाल फर्केका छैनन्।
यो वर्ष प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका राजेश पुलामी मगर, सुनिल धमला, सौरभ खनाल, अनुज चुनारा, भुवन कार्की, कृष्ण कार्की, बिबेक यादव जस्ता खेलाडीले भने बन्द प्रशिक्षणमा मौका पाउन सकेनन्।
घोषित २० सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, पृथु बास्कोटा
क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै टोलिको घोषणा गरेको हो। त्रिकोणात्मक सिरिजको लागि नेपालले आइतबार या सोमबार देखि प्रशिक्षण थाल्नेछ। तथापी काठमाडौँमा भएका खेलाडीहरुले भने अनौपचारिक रुपमा टियु मैदान किर्तिपुरमा अभ्यास सुरु गरिसकेका छन्। सोमबार मुख्य प्रशिक्षक डेभ व्हाटमोर नेपाल आएका थिए जसले बिहिबार कोभिड-१९ पीसीआर परिक्षण गराएका थिए। उनको परिक्षणको नतिजा आएपछि नेपालले अभ्यास सुरु गर्नेछ।
विदेशमा अभ्यास भ्रमणको तयारी
नेपालमा वर्षायाम सुरु भइसकेकोले आउटडोर अभ्यास गर्न समस्या भइरहेको छ। यस्तै महत्वपूर्ण प्रतियोगिताको अघि राम्रो टिमसंग अभ्यास खेल खेल्न समेत आवस्यक रहेको छ। तर कोरोनाका कारण क्यानले चाहेको देशमा अभ्यास भ्रमणको व्यवस्था गर्न भने कठिन भैरहेको छ।
अभ्यास भ्रमणको लागि नेपालले नेदरल्याण्ड जान त्यहाँको बोर्डसंग छलफल गरेको थियो। नेदरल्याण्ड बोर्ड आफ्नो टिम अभ्यास खेलको लागि उपलब्ध गर्न तयार भएता पनि १० दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने तथा भ्रमणको सम्पूर्ण खर्च नेपाललेनै व्यहोर्नुपर्ने हुनाले नेदरल्याण्ड भ्रमण प्रयास असफल भैसकेको बताईएको छ। बंगलादेश र कतार भ्रमण गर्ने बिकल्पमा क्यान काम गरिरहेको छ। कतार भ्रमण गर्न सहज भएता पनि गर्मि तथा कतारको टिम उच्च स्तरीय नहुँदा अभ्यास भ्रमण गर्नु उचीत नहुनाले अन्तिम निर्णय हुन सकेको छैन। बंगलादेश भ्रमण बारे पनि छलफल भएको तर त्यहाँ दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले समस्या रहेको छ। क्यानसंग अन्य देश नभए अन्तिम बिकल्पको रुपमा स्पेनमा हफ्ता-दश दिन अघि पुगेर अभ्यास गर्ने रहेको छ।
अतिरिक्त खेलाडी भ्रमणमा पठाउन सकिने
त्रिकोणात्मक सिरिजको लागि घोषणा गरिने प्रारम्भिक टिमबाट नेपालले १५ जनाको अन्तिम टिम घोषणा गरेर २/३ जना अतिरिक्त खेलाडी समेत भ्रमणमा लैजान सकिने क्यान श्रोतले बताएको छ। श्रोतका अनुसार प्रतिकुल अवस्थालाई मध्यनजर राखेर खेलाडीहरुको प्रतिस्थापन गर्न सहज होस् भन्नको लागि बैकल्पिक खेलाडी समेत लैजान पहल गरिएको हो। उक्त विषयमा छलफल भैरहेको र क्यानले आफ्नै खर्चमा भए पनि अतिरिक्त खेलाडी भ्रमणमा लैजान सक्नेछ।
घोषणा भएन प्रतियोगिता मिति, नामिबियाको खेलाडीमा देखियो कोरोना
आगामी महिना जुलाई २० वा २२ तारिख देखि सुरु हुने बताईएको भएता पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अझै त्रिकोणात्मक सिरिजको मिति घोषणा गरेको छैन। आईसीसीले नेपाल, नामिबिया र स्कटल्याण्डलाई जुलाई २०/२२ को मिति दिएर तयारी गर्न समय दिएता पनि अझै पनि प्रतियोगिताको अधिकारिक मिति भने सार्वजनिक गरेको छैन।
कोरोना केसहरु बढेपछि नामिबियामा दुई दिन अघि दुई साताको लागि लकडाउन घोषित गरिएको छ जसकारण देश भित्र/बाहिर आवतजावत समेत बन्द गरिएको छ। नामिबियाको राष्ट्रिय टिममा रहेका क्रिकेटरमा समेत कोरोना पोजेटिभ पाइएको बताईएको छ। त्रिकोणात्मक सिरिज आयोजना हुन अझै एक महिना बढी समय बाँकी रहेकोले आईसीसी पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ। आईसीसीले यस्तै परिस्थितिलाई मध्यनजर राखेर निर्धारित मिति थोरै सार्ने सम्भावना पनि रहेको छ।
स्कटल्याण्डको घरेलु मैदानमा आयोजना हुनु पर्ने सिरिज स्कटल्याण्डले कोरोनाका कारण गर्न असमर्थता जनाएपछि स्पेनमा आयोजना हुन लागेको हो। स्पेनमा ताजा कोभीड-१९ रिपोर्ट भएको खण्डमा क्वारेन्टाइन बस्नु नपर्ने हुँदा आयोजना सहज भएको हो। स्पेनमा नवनिर्मित एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त डेजर्ट स्प्रिंग्स क्रिकेट ग्राउण्डमा खेलहरु आयोजना हुनेछ। डेजर्ट स्प्रिंग्स रिसोर्टमै मैदान तथा अभ्यासको राम्रो सुविधा उपलब्ध रहेको छ।
नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।
विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।