विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसअघि पपुवा न्युगिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ।
मंगलबार बिहान ९ बजे सलाम एयरको विमानबाट नेपाली टिम ओमानको मस्कट प्रस्थान गरेको हो। ओमान प्रस्थान गर्ने खेलाडीहरुलाई सोमबार बेलुका क्यानले भर्चुवल विदाई गरेको थियो।
ओमान पुगेर नेपाली टिम एक दिन क्वारेन्टाइनमा बस्नेछ जुन दौरान टिमको कोभिड-१९ टेस्ट गरिनेछ जसको नतिजा नेगेटिभ आएको खण्डमा खेलाडीहरु अभ्यासमा सामेल हुन पाउनेछन्। वर्षाको कारण नेपालमा अभ्यास प्रभावित बनेपछि नेपाली टिम चाडै ओमान प्रस्थान गर्न लागेको हो।
भ्रमणमा १७ सदस्यीय नेपाली टोलि सहित प्रशिक्षक डेभ व्हाटमोर, टिम व्यवस्थापक दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो बिक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाई गोहिल गरि २२ जना रहेका छन्। भ्रमणको लागि क्यानले शनिवार टिमको घोषणा गरेको थियो जसमा पहिलो पटक गुल्सन झा सहित एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक कुशल भुर्तेल र आसिफ शेखले समेत स्थान बनाएका थिए।
१७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा
ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जसमध्ये दोश्रो खेल दिवा-रात्री ( डे-नाइट ) हुनेछ। नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ जसको खेलतालिका हालसम्म सार्वजनिक भएको छैन।
विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।
विश्वकप लिग-२ अन्तर्गत नेपालले यस अघि पहिलो सिरिज पनि ओमान र अमेरिकासंग घरेलु भूमिमा गत वर्ष फेब्रुअरीमा खेलेको थियो। त्यस पछि कोभिड-१९ का कारण नेपालले खेल्ने विश्वकप लिग -२ अन्तर्गतको सिरिज स्थगित हुँदै आएको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो।
विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।