- विकेटनेपाल, जेठ ९ – बुधबार
नेपालले नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएको छ ।
जुलाई २९ तारिखमा इंग्ल्याण्डको प्रतिष्ठित क्लब मेरिलबन क्रिकेट क्लब र नेदरल्याण्डसमेत रहनेगरि लर्ड्स क्रिकेट मैदानमा आयोजना हुने टि-२० त्रिकोणात्मक सिरिजपछी नेपालले एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएको हो ।
नेपालले अगस्ट १ र अगस्ट ३ मा नेदरल्याण्डमा २ खेलको एकदिवसीय सिरिज खेल्ने जानकारी प्राप्त भएको हो । यधपी कुन मैदानमा खेल खेलिने भन्नेबारे भने अझै निर्णय भईसकेको छैन ।
नेदरल्याण्डका प्रशिक्षक तथा पुर्व अस्ट्रेलियन क्रिकेटर रयान क्याम्पबेलले क्रिकबजसँग कुरा गर्दै आफुहरु नेपालको पहिलो एकदिवसीय खेल आयोजना गर्न पाउदा खुसिलागेको बताएका छन् । उनले भन्छन्, “नेपालको पहिलो एकदिवसीय खेल र नेदरल्याण्डको सन् २०१३ पछिको पहिलो घरेलु सिरिज को स्वागत गर्न पाउँदा खुसि छौं ।”
नेपालले २०७४ को चैत्र १ गते विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीलाई पराजित गर्दै पहिलोपल्ट ४ बर्ष (२०१८ देखि २०२२ को विश्वकप छनोट) को लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।
यसअघि नेपालले २०१४ को टि-२० विश्वकप क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेपछि अस्थाई रुपमा २ बर्षको टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो, उक्त समयमा पनि नेपालले नेदरल्याण्डसँग ४ खेलको सिरिज खेलेको थियो जुन घरेलु टिम नेदरल्याण्डले ३-१ ले आफ्नो पक्षमा पारेको थियो ।
नेदरल्याण्डले यसअघि सन् २०१३ मा दक्षिण अफ्रिका बिरुद्द एउटा एकदिवसीय खेलको आयोजना गरेको थियो ।
श्रोत: क्रिकबज