नेपालले केन्यामा टि-२० प्रतियोगिता खेल्ने

२०७५ फाल्गुन १९, आईतवार २२:२४

  • विकेटनेपाल – १९ फाल्गुन, आइतवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यामा आयोजना हुने टि-२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ। आगामी मार्च २२ देखि आयोजना हुने बताईएको प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपालसंग नेपालको सहभागिता निश्चित भएको जानकारी गराएका छन्। नेपालले केन्यामा हुने टि-२० प्रतियोगितामा सहभागिता जनाउने निर्णय भएको शिवाकोटीले जानकारी दिए। मार्च २२ बाट आयोजना हुने भनिएपनि खेल तालिका र खेल्ने टिमहरु बारे भने पुरा जानकारी नआएको शिवाकोटीले बताए।

आठ टोली सम्मिलित प्रतियोगितामा केन्या र नेपाल सहित एक टेस्ट मान्यता प्राप्त राष्ट्र र अन्य ५ टोली सहभागी रहने बताईएको छ। सहभागी हुने बाँकी ५ टोलीको समेत टुंगो लाग्न बाँकी रहेको छ। केन्यामा नेपाली क्रिकेट टिमले कुनै पनि क्रिकेट प्रतियोगिता खेल्न लागेको यो नै पहिलो पटक हो।

नेपालले अन्तिम पटक गत जनवरी – फेब्रुअरीमा युएई बिरुद्ध उसकै घरेलु मैदानमा तिन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। पहिलो खेलमा २१ रनको हार बेहोरेको नेपालले त्यसपश्चात लगातार दुई जित दर्ता गर्दै ऐतिहासिक टि-२० अन्तर्राष्ट्रिय शृंखला जित समेत दर्ता गरेको थियो।

सोमपाल सहित अन्य ३ नेपाली खेलाडीले टु-एक्स युएसए कप गुमाउने 

यसैबिच नेपाली राष्ट्रिय क्रिकेट टोलिले केन्यामा आयोजना हुने टि-२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएसंगै सोमपाल कामी सहित अन्य ३ खेलाडीले अमेरिकामा आयोजना हुने टु-एक्स युएसए कप गुमाउने भएका छन्।

राष्ट्रिय क्रिकेट टिमका तिब्र गति बलर सोमपाल कामिले अमेरिकामा अर्को महिना मार्च २० देखि २४ सम्म आयोजना हुने टु-एक्स क्रिकेट युएसए कपमा सहभागी हुने नेपाली राइनोज टिमको कप्तानी गर्ने भएका थिए।

सोमपालसंगै राष्ट्रिय टोलीका करन केसी, ललित राजबंशी र दिपेन्द्रसिंग ऐरी समेत टु-एक्स कपका लागि अमेरिका जाने तयारि रहेको थियो। तर सो प्रतियोगिताकै समयमा राष्ट्रिय टोलि केन्या जाने भएकाले सोमपाल, करन, ललित र दिपेन्द्रले टु-एक्स कप गुमाउने भएका हुन्।

प्रतियोगिताको यस अघि सन् २०१६ को संस्करण समेत नेपाली राइनोज क्रिकेट क्लबले जितेको थियो र उपाधि सहित ६० हजार अमेरिकी डलर पुरस्कार समेत हात पारेको थियो। त्यस बेला नेपाली टिमको कप्तानी पारस खड्काले गरेका थिए भने टिममा ज्ञानेन्द्र मल्ल, शरद भेसावकर ,बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, पृथु बास्कोटा र सिद्धान्त लोहनी जस्ता क्रिकेटर रहेका थिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy