- विकेटनेपाल, चैत २७ – बुधबार
दक्षिण अफ्रीकामा आगामी वर्ष जनवरी-फेब्रुवरीमा आयोजना हुने अन्डर-१९ एकदिवसीय विश्वकप प्रतियोगितामा छनौटको लागि ‘एसिया छनौट प्रतियोगिता’ यही अप्रिल १२ देखि मलेसियामा सुरु हुँदैछ।
१२ देखि १८ अप्रिलसम्म चल्ने प्रतियोगितामा नेपाली क्रिकेट टिमले पनि प्रतिस्पर्धा गर्दैछ। नेपाल सहित ६ टिम प्रतियोगितामा सहभागिता जनाउदै छन् जसमा आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स ( युएई ) रहेका छन्।
प्रतियोगितामा सहभागिता जनाउन नेपाली युवा टिम अप्रिल ६ तारिकमा मलेसिया पुगीसकेको छ। १४ सदस्यीय नेपाली टिमको कप्तानी राष्ट्रिय क्रिकेटर समेत रहेका रोहित पौडेलले गर्दै छन् भने प्रशिक्षक बिनोद दास रहेका छन्।
नेपाली टिम :- रोहित पौडेल, अभिषेक बस्नेत, भिम शार्की , हरि बहादुर चौहान, कमल सिंह ऐरि , कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सुर्य तामांग , प्रशिक्षक – बिनोद दास, टिम म्यानेजर – रमन शिवाकोटी, फिजियो – बिक्रम न्यौपाने
विश्वकपमा कसरि छनौट हुनेछ नेपाल ?
नेपालले अन्तिम पटक २०१६ मा बंगलादेशमा सम्पन्न अन्डर-१९ विश्वकपमा सहभागिता जनाएको थियो। त्यसपछि २०१८ को यु-१९ विश्वकपमा भने नेपाल छनौट हुन सकेन। २०१७ मा सिंगापुरमा सम्पन्न यु-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगितामा उपविजेता नेपाललाई पछि पार्दै अफगानिस्तान त्यसबेला एसियाबाट छनौट भएको थियो।
यो पटक यु-१९ विश्वकपमा १६ राष्ट्रहरु सहभागी हुनेछन्। गत वर्ष यु-१९ विश्वकप खेलेका ११ टेस्ट राष्ट्रहरु २०२० विश्वकपको लागि सिधै छनौट भइसकेका छन्। बाँकी ५ वटा राष्ट्रको निर्क्योल ५ क्षेत्रमा हुने क्षेत्रीय छनौटबाट हुनेछ। अफ्रीकाबाट नाइजेरिया छनौट भइसकेको छ भने अब एसिया, इस्ट एसिया प्यासेफिक अमेरिकाज र युरोपमा हुने छनौट प्रतियोगिताबाट अन्य ५ टिम छानिनेछन्।
यो पटक नेपालले एसिया छनौटमा अफगानिस्तानको सामना गर्नुपर्ने छैन। अफगानिस्तान टेस्ट रास्ट्रको रुपमा र गत विश्वकपमा छनौट भएको कारण स्वतः छनौट भइसकेको छ। आयोजक मलेसिया, युएई, कुवेत, ओमान र सिंगापुरसंग नेपालले प्रतिस्पर्धा गर्नेछ। सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा शिर्ष स्थानमा हुने एउटा टिम यु-१९ विश्वकप खेल्न छनौट हुनेछ।
नेपालको खेल तालिका
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मलेसियासंग अप्रिल १२ तारिकमा एसटिसी मैदानमा खेल्नेछ। १३ अप्रिलमा युएईसंग किनरारा मैदानमा, १५ अप्रिलमा मलेसियासंग बायुमास ओभल मैदानमा, १६ अप्रिलमा ओमानसंग एसटिसी मैदानमा र १८ अप्रिलमा अन्तिम खेल कुवेतसंग किनरारा मैदानमा खेल्नेछ। सबै खेल मलेसिया समय १० वजे बिहान तथा नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।
यु-१९ विश्वकपमा नेपालको इतिहास
१९९८ देखि सुरु भएको यु-१९ विश्वकप प्रतियोगितामा नेपाल हालसम्म ७ पटक सहभागी भएको छ।
सन् २००० मा श्रीलंकामा सम्पन्न यु-१९ विश्वकपमा सहभागी नेपालले त्यसपछि सन् २००२ मा न्युजिल्याण्ड, सन् २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, सन् २००८ मा मलेसिया, सन् २०१२ मा अस्ट्रेलिया र सन् २०१६ मा बंगलादेशमा प्रतियोगिता खेल्यो।
सन् २००० देखि २००८ सम्म लगातार ५ संस्करण नेपालले लगातार यु-१९ विश्वकप खेल्यो भने त्यसपछि सन् २०१०, सन् २०१४ र सन् २०१८ को विश्वकपमा भने छनौट हुन असफल रह्यो।
सन् २००० को श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल दोश्रो चरणमा प्रवेश गरेको थियो तर भारत, श्रीलंका र इंग्ल्याण्डसंग सहजै पराजित हुँदै बाहिरिएको थियो।
सन् २००२ को न्युजिल्याण्डमा सम्पन्न विश्वकप भने नेपालको लागि सफल रहेको थियो। नेपालले समुह चरण पार नगरे पनि पाकिस्तानलाई ३० रनले पराजित गर्दै इतिहास रचेको थियो। त्यसपछि प्लेट च्याम्पियनसिपतर्फ नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यस क्रममा नेपालले बंगलादेशलाई २३ रनले पराजित गर्यो। प्लेट फाइनलमा भने नेपाल जिम्बाबेसंग १३७ रनले पराजित हुन पुगेको थियो।
सन् २००४ को बंगलादेशमा सम्पन्न विश्वकपको समुह चरणमा नेपालले दक्षिण अफ्रीकालाई १ विकेटले पराजित गरे पनि नेट-रन रेटमा दक्षिण अफ्रीकासंग पछि पर्दा दोश्रो चरण प्रवेश गर्न असफल रह्यो। त्यसपछि प्लेट च्याम्पियनसिपमा भने नेपाल अस्ट्रेलिया र स्कटल्याण्डसंग पराजित भएपछि अघि बढ्न सकेन।
सन् २००६ श्रीलंकामा सम्पन्न यु-१९ विश्वकप नेपालको लागि अविस्मरणिय रह्यो। पहिलो पटक नेपालले प्लेट-च्याम्पियनसिप तर्फको उपाधि जित्न सफल रह्यो। फाइनलमा नेपालले न्युजिल्याण्डलाई १ विकेटले पराजित गर्दै उपाधि जित्यो। कनिस्क चौगाईंको कप्तानीमा नेपालले उपाधि जित्ने क्रममा प्लेट-सेमीफाइनलमा दक्षिण अफ्रीकालाई २ रनले पराजित गरेको थियो।
सन् २००८ को मलेसिया विश्वकपको समुह चरणमा नेपाल श्रीलंका र अस्ट्रेलियासंग पराजित भएपछि समुह चरण पार गर्न सकेन। त्यसपछि प्लेट च्याम्पियनसिपतर्फ भने नेपालले क्वार्टरफाइनलमा जिम्बाबेलाई ९९ रनले पराजित गर्न सफल रह्यो। सेमीफाइनलमा नेपालले नामिबियालाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। तर फाइनलमा वेस्ट इन्डिजसंग भने नेपाल ७ विकेटले पराजित हुन पुग्यो र उप-विजेतामा चित्त बुझायो।
अस्ट्रेलियामा आयोजित २०१२ को यु-१९ विश्वकपमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। समुह चरणमा नेपालले कुनै पनि खेल जित्न सकेन जुन क्रममा अस्ट्रेलिया, इंग्ल्याण्ड र आयरल्याण्डसंग पराजित हुन पुग्यो। त्यसपछि प्लेट च्याम्पियनसिपमा नेपाल श्रीलंकासंग ८ विकेटले पराजित हुन पुग्यो। नेपालले १३ औं स्थानमा प्रतियोगिताको अन्त्य गर्यो।
बंगलादेशमा आयोजित २०१६ को यु-१९ विश्वकपको समुह चरणमा नेपालले न्युजिल्याण्ड र आयरल्याण्डलाई पराजित गर्दै इतिहासमा दोश्रो पटक सन् २००० पछि क्वार्टरफाइनल प्रवेश गर्न सफल रह्यो। क्वार्टरफाइनलमा नेपाल बंगलादेशसंग ६ विकेटले पराजित हुन पुग्यो।
समग्रमा अन्डर-१९ विश्वकपको प्रदर्शन हेर्दा नेपालले हालसम्म अस्चार्यजनक नतिजा ल्याउन सक्ने टिमको परिचय बनाएको छ। पाकिस्तानलाई पराजित गर्दै सुरु भएको नेपालको टेस्ट रास्ट्र बिरुद्ध विजय शृंखलामा बंगलादेश, न्युजिल्याण्ड र दक्षीण अफ्रीका समेत पराजित भइसकेका छन्।
सन् २००८ को सहभागिता पछि नेपालको सहभागिता अनियमित हुँदै गएको छ। पुनः अर्को पटक नेपाल विश्वकप छनौट हुने अन्तिम खुड्किलो सामु आइपुगेको छ र नेपालको अघि विश्वकप छनौट हुँदै आफ्नो पुरानो परिचय दोहोर्याउने चुनौती रहेको छ। नेपाली युवा टिमलाई सुभकामना (y)